प्रहरीको पेस्तोल नै बालबन्दीको कब्जामा !

नेपालगञ्ज – बाँकेको जयेन्दु बाल सुधार गृहका बालबन्दीले प्रहरीको पेस्तोल नै कब्जामा लिएका छन् । गएराती १० बजेदेखि नै आपसमा भएको झडपपछि तोडफोड र आगजनीमा उत्रिएका बालबन्दीले प्रहरीको मोटरसाइकल, कागजपत्र जलाउनुका साथै पेस्तोल कब्जामा लिएको स्रोतले बताएको छ ।
बाल सुधार गृहका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) ले बोक्ने पेस्तोल बालबन्दीले लगेका छन् । यद्यपि, यो कुरालाई गोप्य राखिएको छ ।
लगातार तोडफोडमा उत्रिएका बालबन्दीलाई सम्झाएर वार्तामा ल्याउने काम भइरहेको छ । तोडफोडमा उत्रिएको भवनका बालबन्दी प्रहरीसँग वार्ताका लागि बाहिर आएका छन् । च्यानल गेटमा आफै ताला लगाएर भित्र बसेका बालबन्दीले पानीसमेत खान पाएका थिएनन् । अर्को भवनका बालबन्दी शान्त रहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो फौजले बाल सुधार गृह परिसरभित्र पसेर माइकबाट सम्झाएपछि दुई जना नाइके तल झरेका थिए । दुई जना वार्ताका लागि तल झरेकाले स्थिति सामान्य हुँदै गएको छ । दुई पक्षको झडप, तोडफोड, आगजनी, भागाभागले गर्दा रातभरी नै ठूलो संख्याको प्रहरी परिचालन गरिएको थियो । सुधार गृहबाट भागेर नेपालगञ्जसम्म पुगेका र बाहिर निस्केका २५ जना बढीलाई समातेर नेपालगञ्जको वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, जमुनाहाको हिरासतमा राखिएको छ ।
रातीदेखिको तनावको स्थिति बुझ्न लुम्बिनी प्रदेशका डीआइजी उमेशराज जोशी र लुम्बिनी ट्राफिकका एसपी कृष्णप्रसाद प्रसाई नेपालगञ्ज आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलगायत चार वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु घटनास्थलमा रहेका छन् ।
बाल सुधार गृहमा २ सय ५४ जना बालबन्दी थिए । त्यसमा १ सय ६५ जना १८ वर्षमाथिका रहेका छन् । झडपमा ११ जना घाइते भएकोमा एक जनाको मृत्यु भएको छ । १० जनाको उपचार भइरहेको छ । झडपपछि बन्दी रहेको भवनभित्र जान सक्ने अवस्था नरहेकाले कति भागे यकिन हुन सकेको छैन । वार्ताको चरणमा रहेकाले त्यसपछि भित्रको संख्या गन्ने प्रहरीले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !