पूर्वराजालाई २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन गरिने

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाहलाई बैशाख २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन गरिने भएको छ ।

बैशाख १८ गते पश्चिम नेपालको भ्रमणका लागि नेपालगञ्ज बसाईमा आउन थालेका पूर्वराजालाई २० गते राजावादी, हिन्दुवादीले नागरिक अभिनन्दन गर्न थालेका हुन् ।

पूर्वराजाका सचिव सागर तिमिल्सेनाको उपस्थितिमा सोमबार नेपालगञ्जमा भएको राजावादी, हिन्दुवादीको छलफलमा पूर्वराजाको नागरिक अभिनन्दनलाई भब्य बनाउने निर्णय भएको छ ।

राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाका अनुसार, रामलिला मैदानमा हुने नागरिक अभिनन्दनमा राष्ट्यि र धार्मिक झण्डाहरु रहने छन् । कुनै पनि पार्टीको झण्डा नबोक्ने निर्णय भएको छ ।

राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणा, शिव सेनाका किशोर लामालगायत राजावादी एवं हिन्दुवादीको बैठकले छिट्टै मूल र विभिन्न उपसमितिहरु बनाउने तयारी गरेको छ ।

नेपालगञ्जमा बसेर कर्णाली र सुदूरपश्चिमको विभिन्न जिल्लाको भ्रमणसमेत गर्ने तालिका रहेको पूर्वराजा बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !