बागेश्वरीको महाआरतीमा पूर्वराजा आउने

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाहलगायतका राजपरिवार बागेश्वरी मन्दिरमा गरिने महाआरतीमा सहभागी हुन नेपालगञ्ज आउने भएका छन् ।

पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रसहितका राजपरिवारका सदस्य नेपालगञ्ज आउने र बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम बनाइएको छ ।

पूर्वराजा बैशाख १८ गते नेपालगञ्ज आउने कार्यक्रम रहेको छ । पूर्वराजाले एक महिना नै नेपालगञ्जमा बसेर सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने र नेपालगञ्ज बसाई सुखद बनाउनका लागि राजावादी तथा हिन्दुवादीहरु छलफलमा जुटेका छन् । पूर्वराजाको भ्रमणबारेमा छलफल गर्न राजाका सचिव सागर तिमिल्सेना नेपालगञ्ज आएका छन् । सचिव तिमिल्सेनाले नेपालगञ्जमा राजावादी पार्टी, भातृ संगठन, हिन्दुवादी संघ संस्था तथा व्यक्तिसँग छलफल गरिरहेका छन् ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिएको छ । महाआरतीमा दिनप्रति दिन भक्तजनको घुँइचो लागिरहेको छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधैं भीड हुने गर्दछ । हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरु स्वस्फूर्त आउने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !