नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

कोहलपुर – पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताउनु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१५, अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गर्दै उहाँले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु पर्नेमा जोड दिनुभयो । उहाँले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको सेवालाई प्रभावकारी गराउन सुझाव दिनुभयो ।

अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी संचालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा गरेको भन्दै प्रशंसा गर्नुभयो । विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको भन्दै उहाँले कोहलपुरमा केन्द्र संचालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य सञ्जुकुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनु पर्ने बताउनुभयो । ‘सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च भनेर १ लाख रुपैयाँ दिने गरेको छ । तर यस्तै प्रकृतिको थालेसेमियाका बिरामीलाई भने सरकारले राहात दिएको छैन उहाँले भन्नुभयो, म पूर्व मन्त्री थापालाई ध्यानाकर्षण गराउन चाहान्छु । थारु समुदायलाई बढी प्रभाव पार्ने थालेसेमिया रोगका बिरामीलाई पनि सरकारले उपचार खर्च दिनु पर्छ । नीतिगत रुपमा पहल गरिदिन आग्रह गर्छु ।’

लुम्विनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने पहलका निमित्त आफु तयार रहेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव भएकाले नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेको बताउनुभयो ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक डा.विवेक बास्कोटा, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका–१५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका सूचना अधिकृत बिनिता खड्का लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रवद्र्धन केन्द्र र अस्पताललाई जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकधको शालिकको समेत पूर्वमन्त्री थापाले अनावरण गर्नुभएको थियो । स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गर्नुभएको छ ।

कार्यक्रममा जग्गादाताका परिवार सदस्यहरुलाई सम्मानित गरिएको थियो भने केन्द्र स्थापनाका लागि विशेष योगदान पु¥याएको भन्दै पूर्व जनप्रतिनिधिहरु पतिराम थारु, गुत्तु थारु, लौटन थारु, हरिराम थारु, राम लौटन यादव, राम मिलन तमौली र हुसेनी बस्फोरले कदरपत्रले सम्मानित गरिएको नगर प्रवक्ता नमबहादुर आलेले जानकारी दिनुभयो ।

नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रमको संचालन भने प्रेस संयोजक प्रियास्मृति ढकालले गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !