फ्रुटी र मोहीमा नसालु पदार्थ मिसाएर खुवाई लुटपाट गर्ने पक्राउ


नेपालगन्ज – फ्रुटी र मोहीमा नसालु पदार्थ मिसाएर खुवाई गरगहना र नगद लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।
कोहलपुर बसपार्कस्थित रारा कर्णाली होटलमा असोज १२ गतेदेखि बसेका पोखराकी सन्जु कोइराला र तनहुँका कालु परियारले विश्वासमा पारेर होटल सञ्चालककी आमा पार्वती उपाध्याय र छोरीहरु विद्या आचार्य र विनिसा आचार्यलाई फ्रुटी र मोहीमा नसालु पदार्थ मिसाएर खुवाई उनीहरुले लगाएको सुनका गरगहना २.५ तोला ९ आना र होटलको काउन्टरमा रहेको ३० हजार रुपैया लुटपाट गरेका हुन् । असोज १५ गते राती ११ बजे सन्जु र कालु लुटपाट गरेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक नविनप्रकाश चापागाईका अनुसार, सन्जुलाई कात्तिक १ गते पोखरा महानगरपालिका वडा नं. १३, अमलाचौरस्थित आफ्नै घरबाट र असोज ३० गते तनहुँ देवघाट गाउँपालिका वडा नं. ५, क्षेत्रीटोलबाट कालुलाई पक्राउ गरी ल्याइएको छ । कालुको साथबाट बेहोस बनाउने १७ वटा लोराजेपाम ट्याब्लेट बरामद भएको छ ।
कात्तिक २ गते बाँके जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र चोरी कसुरमा कालु परियारलाई ७ दिन र सन्जु कोइरालालाई ६ दिन म्याद थप गरी अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !