नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले अपांगमैत्री संरचना विकास गर्ने क्रममा लिफ्ट निर्माण गरेको छ । अपांगता भएका ब्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरी आजदेखि संचालनमा ल्याइएको छ । नगर प्रमुख प्रशान्त विष्टले लिफ्ट सेवाको उद्घाटन गर्नुभएको हो ।
आफू निर्वाचित हुने बित्तिकै अपांगमैत्री संरचना विकास गर्ने प्रतिबद्धतासहित लिफ्ट संचालन गर्ने पहिलो निर्णय गर्नुभएका नगर प्रमुख विष्टले अब अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन निकै सहज हुने बताउनुभयो । विष्टले अपांगता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मल्टी इन्जिनियरिङ कन्सर्न कोटेश्वर काठमाडौंले १९ लाख ५० हजार लागतमा लिफ्ट निर्माण गरेको नेपालगन्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र रोकायले जानकारी दिनुभयो । डेढ वर्षमा निर्माण सम्पन्न भएको लिफ्ट आधुनिक र डिजिटल प्रणालीमा आधारित रहेर निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । आठ जना मानिस एकसाथ चढ्न सक्ने गरी निर्माण गरिएको लिफ्टमा व्हील चियर पनि अट्छ । नेपालगन्ज उपमहानगरपालिकाको भवन तीन तले छ ।
लिफ्ट संचालनमा आएसंगै अपांगता भएका ब्यक्तिहरु खुसी भएका छन् । नेपालगन्ज नगर स्तरीय अपांगता संजालकी हरिकला थापाले धेरै वर्षदेखिको आशा र अपेक्षा पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । लिफ्ट उद्घाटन कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राही लगायतको उपस्थिति थियो ।

error: यो सुविधा उपलब्ध छैन !