१९ वर्षीय किशोरसँग पेस्तोल र गोली !
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का १९ वर्षका दुई किशोर समिर ढपाली र राजन सोनखर पेस्तोल र गोलीसहित समातिए । राती एक बजे बसपार्क आसपासमा रिक्सामा रहेका दुई जनालाई प्रहरीले शंका लागेर जाँच गर्दा कटुवा पेस्तोल र त्यसको दुई गोली बरामद गरेको थियो ।
१९ वर्षका किशोर खुलेयाम पेस्तोल र गोली बोकेर किन हिडेका थिए ? बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले यो प्रश्नको जवाफ अनुसन्धानपछि दिन सकिने बताए । प्रारम्भिक सोधपुछ हुन सक्छ, प्रहरी स्रोतले उनीहरु रातीमा बदमासी गर्नलाई हिडेका थिए । तर, के बदमासी ? खुलिसकेको छैन । प्रहरीले उनीहरु लागु औषध प्रयोगकर्ता पनि हुन सक्ने आशंका गरेको छ ।
लागु औषध प्रयोगकर्ता हुन् या चोरी–लुटपाट गर्न हिडेका हुन्, त्यसले शान्ति सुरक्षामा चुनौती भने थपेको छ । किशोरहरुले पेस्तोल बोकेर हिड्ने अवस्था कसरी आइरहेको छ ? कहाँबाट कसरी ल्याउँछन् पेस्तोल ? प्रश्न उब्जिएका छन् ।
खुल्ला सीमा र सीमावर्ती शहर भएकाले नेपालगन्जमा भारतबाट साना हतियार र लागु औषध ब्राउनसुगर भित्रिने कुरा यहाँको सुरक्षाको एक÷दुई नम्बरकै चुनौतीमा पर्छन । यी दुवै कुरा नियन्त्रण गर्न प्रहरी लागि परेपनि बेलाबेलामा घटना बाहिर आउने गरेका छन् ।
ब्राउनसुगरको कुरा गर्दा, प्रहरीले पछिल्लो हप्तामात्रै छुट्टाछुट्टै घटनामा तीन सय ग्रामबढी ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ । भारतबाट एक सय ९ ग्राम ३ सय ५० मिलिग्राम ब्राउनसुगर बोकेर आएका भारत रुपैडिहाका कार्तिक कुम्हारलाई त प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको थियो । बसपार्कबाट ३० गते समातिएको यो घटनामा भारत रुपैडिहाकै अजय कुम्हार पनि पक्राउ परेका थिए । प्रहरीले साउन २७ गते नेपालगन्ज–१४ का रमेश लोनियालाई १५ ग्राम ५ सय मिलिग्राम, २९ गते नेपालगन्ज–३, एकलैनीबाट दाङका बीरबहादुर विकलाई ४७ ग्राम ७ सय १० मिलिग्राम, ३० गते नेपालगन्ज–४, बसपार्कबाट नेपालगन्ज–५ का फैजान अन्सारी र मो. अफाक साहलाई ५० ग्राम २ सय ४० ग्राम, ३० गते नै नेपालगन्ज–११, त्रिभुवनचोकबाट रसुल अहमद कवाडियालाई ९८ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।
किशोरले बोकेर हिडेको पेस्तोल पनि भारतबाट नै अपराधिक गतिविधि गर्न ल्याएको भन्नेमा दुईमत छैन । त्यसो त सीमावर्ती भारतीय बजारमा ब्राउनसुगरजसरी सहज रुपमा बीस÷तीस हजारमै पेस्तोल पाउने चर्चा नेपालगन्जमा चल्ने गर्दछ । केही वर्षअघि नेपालगन्जमा पेस्तोलसहित समातिएका व्यक्तिले बीस हजारमा किनेर ल्याएको बयान दिएका थिए ।
ब्राउनसुगर अनि साना हतियार बोकेर हिड्ने प्रवृत्तिले समाजमा अपराधिक गतिविधि बढाउँछ नै । यस्ता गतिविधि रोक्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने देखिन्छ ।