स्ववियु निर्वाचन : दुईमा अनेरास्ववियु, एक-एक क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी विजयी
नेपालगञ्ज – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले दुई वटा क्याम्पसमा प्यानलसहित जित्दा कांग्रेसनिकट नेविसंघ र माओवादीसम्बद्ध अखिल क्रान्तिकारी एक-एक क्याम्पसमा विजयी भएका छन् ।
बाँकेको चार वटा क्याम्पसको नतिजा आउदा अनेरास्ववियुले बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर र ज्ञानोदय बहुमुखी क्याम्पस, खजुरामा प्यानलसहित जितेको छ । बागेश्वरीमा देवेन्द्रबहादुर बुढा र ज्ञानोदयमा विनयकुमार यादवको प्यानल नै विजयी भएको हो ।
नेपालगञ्जको नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी, नेविसंघको गठबन्धनबाट क्रान्तिकारीकी दिपिका सोनी सभापतिमा विजयी भएकी छन् । सचिवमा अनेरास्ववियुकी देवार्चना अधिकारी विजयी भएकी छन् ।
राप्तीसोनारीको फत्तेपुरमा रहेको जनसिद्देश्वरी बहुमुखी क्याम्पसमा नेविसंघकी निरा थारु विजयी भएकी छन् । यहाँ नेविसंघले अन्यसँग गठबन्धन गरेर संयुक्त प्यानल बनाएको थियो ।
यस क्षेत्रकै ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा चैत्र ८ गते चुनाव हुने मिति तय गरिएको छ ।