पृतनापति ट्रफी : बज्रदल र नन्दबक्स बराबरी
नेपालगञ्ज – नेपालगञ्जमा पृतनापति ट्रफी प्रतियोगिता सुरु भएको छ ।
उत्तरपश्चिम पृतनाअन्तर्गतका गण र गुल्मका खेलाडी सम्मिलित प्रतियोगिताको आइतबार पृतनापति उपरथी हिरालाल जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा उपरथी जोशीले नेपाली सेनाको मर्यादा र अनुशासनलाई आत्मसाथ गर्दै आपसी भाइचारालाई बढाउदै फियरप्लेको नमूना प्रस्तुत गर्न खेलाडीलाई निर्देशन दिनुभयो ।
उपरथी जोशीले दिप प्रज्वलन गरेर पृतनापति ट्रफी प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
श्री नम्बर ४ बाहिनी, राँझाको २ नम्बर मैदानमा रेफ्री गोपी भुजेललाई बल हस्तान्तरण गरेर फुटबल प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
बज्रदल गण, नेपालगञ्ज र नन्दबक्स गण, जुम्लाका बीचमा भएको पहिलो फुटबल खेल बराबरीमा टुंगिएको छ । दुवै टोलीले दुई÷दुई गोल गरेका छन् ।
दुई पटक लिएको अग्रतालाई जोगाउन नसक्दा नन्दबक्स गण अंक बाँड्न बाध्य भएको थियो । प्रतिस्पर्धात्मक खेलको ७३ मिनेटमा नन्दबक्स गणका पूर्णबहादुर बोहराले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । ७८ मिनेटमा पाएको पेनाल्टीलाई सुनिल सुनारले गोलमा परिणत गरेपछि बज्रदल खेलमा फर्किएको थियो । ७९ मिनेटमा नै पेनाल्टी पाएपछि नन्दबक्स गणका पूर्णबहादुर बोहराले गोल गरेर फेरि अग्रता दिलाएका थिए । खेलको निर्धारित समय सकिएर थपिएको इन्जुरी समयमा टेकबहादुर रानाले गोल गरेपछि बज्रदल गण एक अंक जोड्न सफल भएको थियो ।
पृतनापति ट्रफीमा फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स, स्वीमिङ, तेक्वान्दो र बक्सिङ गरेर सात वटा खेल समेटिएको छ । त्यसमा स्वीमिङ, तेक्वान्दो र बक्सिङ नेपालगञ्ज रंगशालामा र अरु खेल श्री नं. ४ बाहिनी अड्डा, राँझामा खेलाइएको छ ।
पृतनापति ट्रफीका विजेता टीम र खेलाडी प्रधान सेनापति ट्रफीमा छनौट हुने बज्रदल गण, नेपालगञ्जका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटनमा नेपाली सैनिक अस्पतालका कमाण्डान्ट सहायक रथी नम्रता रावल, श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, अर्जुनबाण गणका गणपति प्रमुख सेनानी अशोक खड्का, बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेललगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा चार वटा गण बज्रदल, नन्दबक्स, नयाँ सबुज र चन्दननाथ र तीन वटा गुल्म कालिदल, त्रिपुरा र शमशेर गुल्मका खेलाडीले भाग लिएका छन् । आइतबार नै सकिएको केही इभेन्टका विजेतालाई पृतनापति उपरथी जोशीले मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।