मेलमिलाप सम्वन्धि आठ दिवसीय आधारभूत तालिम सुरु

काेहलपुर – उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले मेलमिलाप विवाद समाधानको सबैभन्दा उपयोगी विधि भएको बताउनुभएको छ ।
कोहलपुर नगरपालिका न्यायीक समितिको आयोजना तथा नेपाल महिला न्यायाधीश मंचको सहजीकरणमा आजदेखि कोहलपुरमा सुरु भएको मेलमिलाप सम्वन्धि आठ दिवसीय ४८ घण्टे आधारभूत तालिम उद्घाटन शत्रमा बोल्दै न्यायाधीश ज्ञवालीले दुवै पक्षबीच जितजितको माध्यमबाट मुद्दाको किनारा लगाइने भएकाले मेलमिलाप विवाद समाधानको उपयोगी विधि भएको बताउनुभएको हो ।
उहाँले अदालतबाट हुने न्याय निरुपण एउटाले जित्ने र अर्कोले हार्ने हुने भएपनि मेलमिलापको विधि भने दुवैका लागि जित जित हुने बताउनुभयो । उहाँले मेलामिलापका माध्यमबाट विवाद समाधान गर्ने काम न्यायका सवालमा सबैभन्दा पूण्य काम भएको पनि बताउनुभयो । न्यायालयमा आफ्नो अनुभवका आधारमा विवाद समाधानमा मेलमिलापको विधि सबैभन्दा दीर्घकालीन र उपयोगी भएको पाएको पनि उहाँको भनाइ थियो । पछिल्लो समय संसारभरी न्याय निरुपणमा अहिले मेलमिलाप विधिको अभ्यास भइरहेको पनि न्यायाधीश ज्ञवालीको भनाइ छ ।
कोहलपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायीक समितिका संयोजक संगीता सुवेदीले संबिधानले व्यवस्था गरे अनुसार आफुहरुले स्थानीय स्तरका विवादहरु मेलमिलापका माध्यमबाट टुंग्याउने गरिएको जानकारी दिनुभयो । मेलमिलाप सम्वन्धि आठ दिवसीय आधारभूत तालिमपछि सबै वडामा मेलमिलाप केन्द्र गठन गरिने पनि उहाँको भनाइ छ । वडामा आएका विवादहरु सकेसम्म वडामै समाधान होस् भन्ने हेतुले मेलमिलापकर्ताहरुलाई तालिम दिन लागिएको पनि उहाँको भनाइ छ ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीय तहको न्याय सम्पादनमा सहजता ल्याउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यो तालिमपछि सबै वडामा मेलमिलापकर्ताहरु नियुक्त गरिने जानकारी दिनुभयो ।
८ दिनसम्म चल्ने तालिममा १५ वडाबाट २/२ जना सहभागी छन् ।  नेपाल महिला न्यायाधीश मंचका सहजकर्ता सीता अधिकारी र देवीराम भण्डारीले सहजीकरण गर्नु हुनेछ ।

error: यो सुविधा उपलब्ध छैन !