बर्दियामा चार अर्बको लगानीमा टायल उद्योग सञ्चालन
नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नं. ८ मा चार अर्बको लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ ।
देशभरी नै उत्पादन पु¥याउने उद्देश्यले सुबरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा उद्योग सञ्चालनमा आएको हो । भदौ १ गतेदेखि उत्पादन शुरु गरेको उद्योगले एक महिना परीक्षणकाल सकेर बजारमा टायल पठाउन थालिसकेको छ ।
साढे १२ विगाह जग्गा लिएर उद्योग स्थापना गरिएको छ । यो भिट्रीफिड टायलको एकमात्र उद्योग भएको बताइएको छ । भारतको राजिस्थानबाट कच्चा पदार्थ ल्याएर टायल बनाउने गरिएको छ । उद्योगको एक दिनमा एक लाख ४० वर्गफिट उत्पादन क्षमता रहेको छ । यसमा अझै १० देखि १५ प्रतिशत उत्पादन बढाउन सकिने सञ्चालक अभिनव चुरिवालले जानकारी दिए ।
पश्चिम नेपालमा यति धेरै लगानीको टायल उद्योग छैन । उद्योगमा तीन सय बढी कर्मचारी रहेका छन् । दिनको अढाई सयदेखि तीन सय मेट्रिक टन माटो खपत हुने गरेको छ । उद्योगको अहिलेसम्म सय बढी डिलर सञ्चालनमा आइसकेको छ । भारतबाट आएको टायल भन्दा यो गुणस्तरीय र २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक चुरिवालले बताए । ग्याँसीफायरको प्रयोग, गुणस्तरका लागि इटालियन मेसिन, नेपालकै कम उद्योगमा रहेको डस्ट कलेक्टर यहाँ रहेको छ ।
सञ्चालक चुरिवालका अनुसार, डडेल्धुरामा खानी फेला परेकाले शुरुमा उद्योग सुदूरपश्चिममै राख्ने योजना बनाइएको थियो । धनगढीमा मेसो नमिलेपछि बर्दियामा उद्योग सञ्चालनमा ल्याइएको हो । यहाँबाट अहिले काकडभिट्टासम्म उत्पादन पुगिसकेको छ । चुरिवालले टायलको रेसपोन्स राम्रो आएको, प्रयोग गर्नेहरुले राम्रो मानेको, डिलरहरु उत्साहित भएको दावी गरे । उनले बजारमा सिरामिक टायललाई भिट्रीफिड टायल भनेर बिक्री वितरण भइरहेको बताए । ‘भिट्रीफिड टायलको मापदण्ड नै छैन, जसलाई पनि भिट्रीफिड भनिएको छ, चुरिवालले भने, सिरामिक टायललाई पनि भिट्रीफिड भन्ने गरिएको छ । त्यसो होइन, लमिनारमात्रै भिट्रीफिड टायल हो ।’
यो टायलको मूल्य प्रतिवर्गफिट ८० देखि दुई सय रुपैयासम्म रहेको छ । नेपालमा पछिल्लो दुई वर्षभित्रमा ठूल्ठूला टायल उद्योग सञ्चालनमा आएका छन् ।