संसदीय टोलीद्वारा सिक्टाको अनुगमन
नेपालगन्ज – संसदको पूर्वाधार विकास समितिले गौरवको आयोजना सिक्टा सिंचाईको अनुगमन निरीक्षण गरेको छ ।
ठाकुर गैरेको नेतृत्वमा आएको अनुगमन टोलीले सिक्टाको स्थलगत निरीक्षण गरेको छ । यस्तो निरीक्षण यसअघि २०७५ सालमा पूर्णाकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजक हुँदा भएको थियो । ६ वर्षपछि आएको संसदीय समितिले सिक्टाको काम छिटो हुन नसक्नुका कारण, समस्याका बारेमा बुझेर सरकारलाई प्रतिवेदन दिने जनाएको छ ।
अनुगमन टोलीका संयोजक गैरेले गौरवको सिक्टा आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्न के गर्न सकिन्छ भन्ने बुझ्नका लागि स्थलगत आएको बताए । टोलीमा प्रतिमा गौतम र विना तामाङ रहेका छन् । सिक्टाको स्थलगत निरीक्षणमा सांसद सूर्य ढकाल र दीपा शर्मा, प्रदेश सांसद बादशाह कुर्मी, सिक्टाका निमित्त निर्देशक इन्जिनियर राजु आचार्यलगायत थिए ।
अनुगमन टोलीका सदस्य गौतम र तामाङ, सांसदद्वय ढकाल र शर्माले गौरवको आयोजनालाई विशेष प्राथमिकतामा राखेर निश्चित समयमा सम्पन्न गर्नुपर्ने बताए ।
आर्थिक वर्ष २०६१-६२ मा गौरवको आयोजना सिक्टा सिंचाईको काम शुरुवात भएको हो । यसको शुरुवाती लागत १२ अर्ब ८० करोड थियो । समयमा काम सम्पन्न नहुँदा पटक–पटक गुरुयोजना संशोधन गर्दै ५२ अर्ब ८९ करोड लागत पु¥याइएको छ । आर्थिक वर्ष ८९-९० सम्पन्न गर्ने पछिल्लो गुरुयोजना रहेको छ ।
बाँके जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर जमिनलाई सिंचाई गर्ने गरी सिक्टाको परिकल्पना गरिएको छ ।