चार महिना कुर्दा पनि डायलासिसमा पालो आएन

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा मृगौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेका छन् । यति लामो समयदेखि लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन ।

अस्पतालको हेमोडायलासिस युनिटका अनुसार, भदौदेखि ८५ जना बिरामीले पालो कुरिरहेका छन् । उनीहरुले पालो पाएका छैनन् । पालो कुरिरहेका कतिपय सम्पर्कविहीन भइसकेका छन् । उनीहरुको मृत्यु भयो वा अन्यत्र गए अस्पताललाई जानकारी छैन ।

भेरीमा चार वटा डायलासिस मेसिन छन् । तीमध्येमा एउटा आपतकालिन अवस्थामा र अरु तीन वटालाई नियमित विरामीलाई प्रयोग गर्ने गरिएको छ । भेरीमा अहिले ३६ जना बिरामीले नियमित डायलासिस गराइरहेका छन् ।

अस्पतालमा थप ६ वटा मेसिन आइपुगेको छ । यी मेसिन आएको धेरै भइसकेपनि जडान गरिएको छैन । ‘पानी’को समस्याले गर्दा ती मेसिन जडान हुन नसकेको युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।

भदौदेखि कोहलपुर मेडिकल भित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिन थालेपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको थियो । कोहलपुरमा मेसिन बिग्रिने, बनिहाले पनि आवश्यक सामान समयमा नआउने हुनाले त्यहाँका बिरामी भेरीको सम्पर्कमा आएका छन् । पछिल्लो हप्तादेखि कोहलपुरमा डायलासिस ठप्पै छ । युनिट प्रमुख डा. श्रेष्ठले कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउदा यहाँ चाप बढेको बताउनुभयो ।

कोहलपुरमा डायलासिस नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरु निजी या भेरीको आपतकालिन कक्षमा आएर सेवा लिएका छन् । नियमित डायलासिस गर्नेहरु भेरीमा लाइनमा रहेका छन् । भेरीको तीन वटा मेसिनले पहिलेदेखि नै रुटिनमा रहेकाहरुलाई सेवा दिइरहेको छ । भदौदेखि नै नयाँलाई पालो दिन सकेको छैन ।

सरकारले मृगौलाका बिरामीलाई निशुल्क डायलासिस र मासिक पाँच हजार भत्ता दिने भनेपनि त्यो सेवा विरामीले पाइरहेका छैनन् । नियमित रुपमा डायलासिस गर्न नपाएर बिरामी छट्पटिरहदा सरकारले कोहलपुरमा डायलासिस सञ्चालन गरेको बिरंग हेल्थ केयर प्रालिलाई दबाब दिन सकेको छैन । न त यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरीले नै सबैलाई सहज रुपमा त्यो सेवा उपलब्ध गराउन सकेको छ ।

युनिट प्रमुख डा. श्रेष्ठले बिरामीले दैनिक नै फोन गरेर पालो सोध्ने गरेको बताउनुभयो । ‘हामीलाई सधैं फोन गरेर बिरामीले पालो सोध्नु हुन्छ । हामीले भदौदेखि नै सम्पर्कमा ८५ जनालाई पालो दिन सकेका छैनौ, डा. श्रेष्ठले भन्नुभयो, पालोका लागि फोन गरिरहने कतिपय सम्पर्कबिहीन भइसकेका छन् । केही अन्यत्र गएर डायलासिस गरिरहेका छन् ।’


error: यो सुविधा उपलब्ध छैन !