विद्युत सर्टले धेरै आगलागी
नेपालगञ्ज – बाँकेमा विद्युत सर्ट भएर धेरै आगलागी भएका छन् । पछिल्लो चार वर्षमा जिल्ला भएका आगलागी घटनामा ४० प्रतिशत विद्युत सर्ट भएर भएका छन् ।
बरुण यन्त्र कार्यालय, नेपालगञ्जका अनुसार, आर्थिक वर्ष २०७६ देखि २०७९ सम्ममा जिल्लामा २ सय ५८ वटा आगलागीका घटना भएका छन् । त्यसमा एक सय २० वटा आगलागी विद्युत सर्ट भएर भएका छन् । ग्याँसका कारण २०, आगोबाट ७०, अन्य कारणले १३ र अज्ञातबाट ५३ वटा आगलागी भएका छन् ।
नेपालगञ्ज बजारमा बढी आगलागी भएका छन् । आर्थिक वर्ष २०७६ मा नेपालगञ्जमा ४८ र बाहिर २६ वटा घटना भएका छन् । यो वर्ष ६ वटा आगलागी भारतमा हुँदा नेपालगञ्जबाट दमकल गएका छन् । आर्थिक वर्ष २०७७ मा नेपालगञ्जमा ५१ र बाहिर १७, २०७८ मा नेपालगञ्जमा ४१ र बाहिर २० र आर्थिक वर्ष २०७९ मा नेपालगञ्जमा ४१ र बाहिर १४ वटा आगलागी भएका छन् । यो चार वर्षमा नेपालगञ्जमा एक सय ८१ र नेपालगञ्ज बाहिर ७७ वटा आगलागी भएका छन् ।
बाँकेमा धेरै आगलागी दिउँसोमा भएको छ । दिउँसोमा ८८ पटक आगलागी भएको छ । त्यसपछि रातीमा बढी छ । रातीमा ७६ पटक आगलागी भएको छ । विहान ४४ र बेलुका ५० पटक आगलागी भएका छन् ।
महिनावाइज हेर्दा बैशाख, कात्तिक, चैत्र र जेठ महिनामा धेरै आगलागी भएका छन् । बैशाखमा ५५, कात्तिकमा २८, चैत्रमा २७ र जेठमा २५ पटक आगलागी भएका छन् । असारमा १७, साउनमा १३, भदौमा १६, असोजमा १३, मंसिरमा २४, पुसमा १६, माघमा ७ र फागुनमा १७ पटक आगलागी भएको बरुण यन्त्र कार्यालयले जानकारी दिएको छ ।
नेपालगञ्जमा बढी आगलागी भएको र यहाँका अव्यवस्थित भौतिक संरचनाहरुले गर्दा क्षति बढी हुने गरेको छ । नेपालगञ्जका कतिपय वार्डहरुमा दमकल जाने बाटो छैन । घनाबस्तीमा पुराना तारका संरचनाहरु छन् । दमकललाई आवश्यक पानी उपलब्ध नहुनु पनि आगलागीबाट बढी क्षति भइरहेको छ ।
नेपालगञ्जमा तीन वटा दमकल छन् । एकैपटक तीन वटै दमकल फिल्डमा जान सक्ने अवस्था छैन । कर्मचारी अभाव छ । बरुण यन्त्र कार्यालयका झैनबहादुर खड्काका अनुसार, कम्तीमा १८ जना कर्मचारीको दरबन्दी हुनुपर्नेमा ११ जना छन् । करारमा गरेर १५ जना कर्मचारी राखिएको छ ।
नेपालगञ्ज पुरानोमध्येको शहर हो । २०१७ सालमा नगर पञ्चायत र २०१९ सालमा नगरपालिका बनेको यो शहरमा केही वडामा दमकल छिर्ने बाटो छैन । त्यहाँ आगलागी भयो भने स्वभाविक रुपमै बढी क्षति हुन्छ । विद्युतका पोलहरुमा असरल्ल छिरल्लेका तारहरुले पनि आगलागीको जोखिम बढाएका छन् । नेपालगञ्जमा विद्युतको ठूलो समस्या छैन । तर पनि छिनमा आउने र जाने, भोल्टेजको समस्याले गर्दा विद्युत सर्ट भएर आगलागी हुने गरेको छ ।