केही सीटमा एमालेसँग तालमेल हुने राप्रपा अध्यक्ष लिङ्देनको खुलासा

नेपालगञ्ज – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही ठाउँमा एमालेसँग तालमेल हुने बताउनु भएको छ ।

पार्टीले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले देशभरी नै नभई केही ठाउँमा चुनावी तालमेल हुने बताउनुभयो । ‘एजेन्डा फरक भएपनि एमालेसँग केही सीटमा तालमेल हुन्छ, अध्यक्ष लिङ्देनले भन्नुभयो, अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीको सीट सुरक्षित राख्नका लागि तालमेल हुन्छ ।’

अध्यक्ष लिङ्देनले विगतमा जसरी चार सीटमात्रै लिएर अरु दिने गरी एमालेसँग तालमेल नहुने बताउनुभयो । उहाँले तालमेल नभएका ठाउँमा राप्रपाले आफ्नो उम्मेदवार उठाउने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले तीन दशकदेखि केही सीमित राजनीतिक दल र सीमित नेताको चक्रब्यूहमा देश फसेको र त्यसबाट देशलाई मुक्त गराउन राप्रपा ठूलो शक्ति हुन जरुरी रहेको बताउनुभयो । ‘नेपालको निर्णायकत्व नेपाली जनताको हातमै राख्नु पर्छ । विदेशीले यहाँको प्रधानमन्त्री बनाइदिने परिपाटीको अन्त्य गराउनु पर्छ, त्यसका लागि राप्रपालाई विजयी गराउन जरुरी छ, अध्यक्ष लिङ्देनले भन्नुभयो ।

अध्यक्ष लिङ्देनले निर्वाचन घोषणा भइसकेपछि संसदको अन्त्य हुने र सरकार चुनावी सरकारमा परिणत हुने भएपनि संसदको आयु लम्ब्याउने खेल भएकाले आफूले सांसदबाट राजीनामा दिएको बताउनुभयो ।

बर्दियामा हुन थालेको पार्टी प्रवेश कार्यक्रममा भाग लिन जाने क्रममा अध्यक्ष लिङ्देन नेपालगञ्ज आएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !