अपराजित हुँदै भैरवप्रसाद गण प्रधानसेनापति ट्रफीमा छनौट

नेपालगञ्ज – भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझा चैत्रमा हुने प्रधानसेनापति ट्रफी फुटबल प्रतियोगितामा छनौट भएको छ ।
होमग्राउण्डमा भइरहेको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको समूह एको विजेता हुँदै भैरवप्रसाद गण प्रधानसेनापति ट्रफीमा छनौट भएको हो ।
कमाण्ड सेनापति ट्रफीमा आठ वटा टीमले प्रतिस्पर्धा गरिरहेका छन् । आफ्नो समूहको तेस्रो खेलमा आइतबार चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोटलाई २–० गोलले पराजित गरेपछि भैरवप्रसाद गण अपराजित हुँदै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा पुग्ने चार टोलीले चैत्र १६ गतेदेखि जेठ २ गतेसम्म हुने प्रधानसेनापति ट्रफीमा भाग लिने पाउने छन् ।
प्रतिस्पर्धात्मक खेलमा भैरवप्रसाद गणका संगम चौधरीले ४४ मिनेट र खेमराज शर्माले ८१ मिनेटमा गोल गरेका थिए । यसअघि भैरवप्रसाद गणले पहिलो खेलमा नन्दबक्स गण, जुम्लालाई ३–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेल भवानी दल गण, तेघरी ब्यारेक कैलालीसँग एक-एक गोलको बराबरी खेलेको थियो ।
आइतबार भैरवप्रसाद गणसँग पराजित भएको चन्दननाथ गणले भवानी दल गण, तेघरी ब्यारेक कैलालीलाई ४–१ गोलले पराजित गरेको थियो । चन्दननाथ गणले दुई खेलबाट तीन अंक जोडेको छ ।


आइतबारको दोस्रो खेलमा नयाँ सबुज गण, सुर्खेत र रण बम गण, डडेल्धुराले बराबरी खेलेका छन् । खेल शुरु भएको दुई मिनेटमै ऋषिराम चौधरीको गोलमा नयाँ सबुजले अग्रता लिएको थियो । ४९ औं मिनेटमा रण बम गणका रविन सदाले गोल गरेर टीमलाई बराबरीमा ल्याएका थिए । डीएरियाभित्र सबुज गणका खेलाडीको ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा रण बम गण अंक बाँडेको थियो ।
नयाँ सबुज गणले तेस्रो खेल पनि बराबरी खेल्दा उसको तीन अंकमात्रै भएको छ । पहिलो खेलमा जित हासिल गरेको रण बम दोस्रो खेलमा बराबर भएको छ । उसले चार अंक जोडेको छ ।


error: यो सुविधा उपलब्ध छैन !