हात्तीपाइले औषधी खुवाउन डुडुवामा रणनीति तयार

डुडुवा – राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आमऔषधी सेवन अभियान यस वर्ष पनि शुरु हुने भएको छ । अभियान सफल बनाउनका लागि डुडुवा गाउँपालिकाले शनिबार पालिकास्तरीय योजना तर्जुमा गोष्ठी गरेको छ ।
कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थिति, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निर्धारण, अनुगमनलगायतका बुँदालाई समाबेश गरि विशेष रणनीति निर्माण गरिएको हो । औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निर्माण गरिएको रणनीति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवामा यही फागुन २८ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो ।
एक हप्तासम्म सञ्चालन गरिने अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । यस वर्ष उचाईका आधारमा औषधी खुवाइने छ । यस वर्ष आइभरमेक्टिन नामक औषधी थपिएको छ ।
कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, परशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावति यादव, सुष्मा यादव, ढोडे पासी, स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन दुर्गा गौतम, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !