१३ र १४ गते सबैलाई दोस्रो डोज खोप लगाइने

नेपालगञ्ज – बाँकेमा नेपाल प्रहरी र नेपाली सेनालाई कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले २०७७ फाल्गुन २३ गते अगाडि पहिलो डोज लगाएका प्रहरी र सेनालाई दोस्रो डोज लगाएको हो ।
स्वास्थ्य कार्यालयका जनक गिरीका अनुसार, दुई सय ९० जना प्रहरी र ६० जना सेनालाई दोस्रो चरणको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयका कर्मचारीले जिल्ला प्रहरी कार्यालय र राँझास्थित आर्मी ब्यारेकमा गएर खोप लगाइदिएका थिए ।
बाँकेमा ९ हजार ८ सय ३३ जनाले पहिलो डोज खोप लगाएका थिए । त्यसमध्येमा एक हजार नौ सय २ जना दोस्रो डोज लगाउन छुटेका थिए । स्वास्थ्य कार्यालयले जेठ १३ र १४ गते नेपालगञ्ज हेल्थ पोष्टमा छुटेका सबैलाई दोस्रो डोजको खोप लगाउने बताएको छ । ‘दोस्रो चरणको खोप लगाउन छुटेका एक हजार नौ सय २ जनालाई नै १३ र १४ गते खोप लगाउँछौं, गिरीले भन्नुभयो, दोस्रो डोज लगाउन छुटेका सबै जना नेपालगञ्ज हेल्थ पोष्टमा आउन सक्नु हुन्छ ।’
बाँकेमा कोरोना हटस्पट बन्दा खोप लगाएका व्यक्तिमा कम असर देखिएको स्वास्थ्यकर्मीहरुले बताउदै आएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !