एक कल गर्नुस्, कहाँ बेड खाली छ थाहा पाउनु हुन्छ
नेपालगञ्ज – बाँकेका कुन अस्पतालमा कोरोनाका विरामी राख्ने कति बेड खाली छ भन्ने दैनिक सार्वजनिक गर्न थालिएको छ ।
विरामी लिएर आउनेहरुले ‘समन्वयकर्ता’ नरेश श्रेष्ठलाई एक कल फोन गरेमा कुन अस्पतालमा कति बेड खाली छ भनेर जानकारी पाउन सक्छन् । यसो गर्दा यो अस्पतालबाट त्यो अस्पतालमा दौडाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।
बाँकेबाट सरुवा भएर बर्दियाको कोभिड फोकलपर्सन रहेका श्रेष्ठलाई तीन महिनाका लागि बाँकेमा ल्याएर अस्पतालमा बेड र विरामीको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, (डीसीसीएमसी) बाँकेले निर्णय गरेर श्रेष्ठलाई त्यो जिम्मेवारी दिएको हो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टर बनेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, वेष्टर्न अस्पताल, युनाइटेड अस्पतालमा कोभिडका विरामीको उपचार हुँदै आएको छ । यी अस्पतालमा दैनिक कति विरामी आउँछन्, जान्छन्, कति बेड खाली हुन्छ, कति भरिन्छ, सबै रिपोर्ट श्रेष्ठले दैनिक सार्वजनिक गर्न थालेका छन् ।
श्रेष्ठले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार, भेरीमा २७, कोहलपुर मेडिकल कलेजमा २७, वेष्टर्न अस्पतालमा १३, युनाइटेड अस्पतालमा ५ बेड खाली रहेका छन् । यी अस्पतालहरुमा ३ सय ६१ बेड रहेकोमा २ सय ८९ जना विरामीको उपचार भइरहेको छ ।
अस्पतालमा विरामीको चाप बढ्दा विरामी लिएर आएकाहरु बाहिरीबाट नै बेड छैन भनेर फर्किने गरेको पाइएको थियो । डीसीसीएमसीको बैठकमा यही कुरा उठेपछि श्रेष्ठलाई जिम्मेवारी दिएर खटाइएको थियो ।
‘अस्पतालमा भित्र बेड हुने तर बाहिरबाट नै बेड छैन भनेर फर्किने गरेको पाइयो, श्रेष्ठले भन्नुभयो, त्यही भएर हामीले दैनिक नै कुन अस्पतालमा कति बेड खाली छ भनेर सार्वजनिक गर्न थालेका छौं ।’
बाँकेमा अहिले बर्दिया, दाङ, कैलाली जिल्लाका धेरै विरामीको मृत्यु भइरहेको छ । विरामी पनि त्यही जिल्लाका बढी छन् । टाढाबाट विरामी लिएर आउने भएकाले उनीहरुले अस्पतालमा ल्याउनु अघि एक कल समन्वयकर्तालाई गरेर आए भने कुन अस्पतालमा बेड खाली छ भनेर पाएर सिधैं त्यही जान सक्छन् ।