नेपालगन्जका उपमेयर र नरैनापुरका अध्यक्ष यादवतिरै

नेपालगन्ज – बाँकेको स्थानीय तहमा माथिल्लो पदमा पुगेका दुई जना जसपाका नेताले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमै रहने बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई र नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले विज्ञप्ती निकालेर जनता समाजवादी पार्टी, नेपालमै रहने बताएका हुन् । दुवै जनाले जनता समाजवादी पार्टी अवैधानिक तरिकाले दर्ता भएको टिप्पणी गरेका छन् ।
बाँकेका आठ वटा स्थानीय तहमा जसपाबाट माथिल्लो पदमा पुगेका यी दुई जनामात्रै छन् । दुवै जनाले उपेन्द्र यादवको पक्षमा रहन कार्यकर्तालाई आव्हान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर र डुडुवामा जसपाबाट वडाध्यक्ष र सदस्यमा विजयी भएका छन् । उनीहरु सबै कतातिर जाने कित्ता क्लियर गरिसकेका छैनन् ।
जनता समाजवादी पार्टीका महासचिव मो. इस्तियाक राई नै बाँके जिल्ला निवासी भएकाले यहाँका सबै नेता तथा कार्यकर्ता उनकै पछि लाग्ने अनुमान गरिएको थियो । संघीय परिषद् सदस्य रहेका नरैनापुरका अध्यक्ष शाह र पार्टीको बाँके जिल्ला अध्यक्ष रहेका नेपालगन्ज उपमहानगरपालिका उपमेयर राईले नै इस्तियाक राईलाई छोडेका छन् । नवगठित पार्टीका महासचिव राईसँग केही बार्गेनिङ गर्नका लागि अहिलेलाई विज्ञप्ती निकालेको भन्नेहरु पनि छन् ।

error: यो सुविधा उपलब्ध छैन !