हप्ता दिनको फरकमा बाबु–छोराको मृत्यु

नेपालगञ्ज – बर्दियाको बाँसगढीमा हप्ता दिनको फरकमा बाबु र छोराको मृत्यु भएको छ । बाँसगढी नगरपालिका वडा नं. ६ का ८० वर्षीय गणेश थापा र ५५ वर्षीय बाबुराम थापाको कोरोनाबाट मृत्यु भएको हो ।
बुवा गणेशको जेठ ३ गते विहान ५.३० बजे मृत्यु भएको थियो । छोरा बाबुरामको जेठ १० गते राती एक बजे मृत्यु भएको छ । दुवै जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
आफन्तीको विवाहमा कञ्चनपुर गएका छोरा बाबुराम उतै विरामी भएका थिए । बैशाख ७ गते कञ्चनपुरमै उनको पीसीआर गरिएको थियो । घर बर्दिया आएकै दिन सास फेर्न गाह्रो भएपछि एम्बुलेन्समा राखेर भेरीमा ल्याइएको थियो । उनलाई बैशाख २३ गते भर्ना गरिएको थियो ।
शरीरमा अक्सिजनको मात्रा कम भएकाले उनलाई खतरा देखिएको थियो । यहीबेला बुवा गणेशलाई पनि सन्चो भएन । बुवालाई २७ गते भेरीमा ल्याइयो । २८ गतेदेखि भर्ना गरियो । बाबु र छोरा नजिक–नजिकैको बेडमा थिए ।
बुवाको ३ गते मृत्यु भयो । गम्भीर अवस्थामा रहेका छोरालाई बुवा बितेको खबर गरिएको थिएन । कहिलेकाही छोराले बुवा खोई भनेर सोध्दा सन्चो भयो भनेर जवाफ दिने गरिएको थियो । बुवा बितेको भनिदिंदा अझ समस्या देखिन सक्ने भएकाले ढाटिएको थियो । उनको अवस्था दिन प्रति दिन गम्भीर बन्दै गइरहेको थियो । बुवाको बितेको थाहा नपाएर आइतबार राती छोरा बाबुरामको मृत्यु भएको छ ।
सोमबार दिउँसो बाँके र बर्दियाको सीमानामा पर्ने मानखोलामा बाबुरामको दाहसंस्कार गरिएको थियो । उनको चितामा श्रीमतीले दागबत्ती दिएकी छन् । बुवा गणेशको चितामा छोरीतर्फका नातीले दागबत्ती दिएका थिए ।
गणेशका दुई छोरा हुन् । जेठो बाबुरामको मृत्यु भएको छ भने कान्छो प्रकाश विदेशमा रहेका छन् । बाबुरामको एउटा छोरा भुवन पनि विदेश रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !