‘लागु औषध’मा १५ देखि ३० वर्षका ६८ प्रतिशत

नेपालगञ्ज – बाँकेमा १५ देखि ३० वर्षका किशोर र युवाको ठूलो संख्या लागु औषधको कुलतमा फसेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकका अनुसार, चालु आर्थिक वर्षमा लागु औषधीसहित पक्राउ पर्नेमा १५ देखि ३० वर्ष उमेरका ६८ प्रतिशत रहेका छन् । एसपी ओमबहादुर रानाले चालु आर्थिक वर्षमा लागु औषधीका ८३ वटा मुद्दा रहेकोमा एक सय २२ जना पक्राउ परेका जानकारी दिनुभयो । पक्राउ पर्नेमा चार महिला छन्, बाँकी पुरुष । १३ जना भारतीय छन् ।
प्रहरीको तथ्यांकले पढ्ने र केही गर्ने उमेर समूह नै लागु औषधीमा फसेको देखाएको छ । बाँकेमा आर्थिक २०७४÷७५ मा एक सय ४७, ०७५÷७६ मा २ सय ४९, ०७६÷७७ मा १ सय ५६ वटा मुद्दा दर्ता भएको थियो । एसपी रानाले सम्पूर्ण अपराधको आधा बढीमा लागु औषधी प्रयोगकर्ता संलग्न रहेको बताउनुभयो ।
लागु औषधीको असर चोरी, लुटपाट, कर्तब्य ज्यान, आत्महत्या, सवारी दुर्घटनामा पनि देखिने गरेको छ ।
सीमावर्ती जिल्ला भएकाले बाँकेबाट लागु औषधी अन्यत्र जिल्लामा पुगेको पाइन्छ । लागु औषधी नियन्त्रण गर्न लागु औषध नियन्त्रण ब्यूरो नै खटाइएको छ । बाँकेमा चालु आर्थिक वर्षमा तीन सय पाँच ग्राम ९ सय ४५ मिलिग्राम ब्राउनसुगर, ७ किलो ३० ग्राम चरेश, ३४ किलो ५ सय ७४ ग्राम अफिम, ५३ किलो गाजा, २२ लिटर कोरेक्स र एक हजार एक सय ५ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको छ ।
नेपालमा अहिले एक लाख ३० हजार ४ सय २४ जना हार्ड ड्रग्स युजर रहेका छन् । नेपालको कारागारमा २४ हजारबढी रहेको बन्दीमा २१ प्रतिशत लागु औषधीका रहेका छन् ।
बाँकेलाई लागु औषधीको ट्रान्जिट प्वाइन्ट मानिन्छ । ६५ किलोमिटर खुल्ला सीमाना रहेको बाँकेमा भारतीय नै यहाँ लागु औषधी पु¥याउन आउँछन् । नेपालगञ्ज हुँदै छिमेकी जिल्लाहरु दाङ, सुर्खेत, दैलेखलगायत पुग्छ ।
कर्णाली प्रदेशको जाजरकोट, रोल्पा, रुकुमका माथिल्लो भेगमा उत्पादन हुने अफिम, चरेश बोकेर नेपालगञ्ज झर्ने गरिन्छ । त्यो कच्चा पदार्थको गन्तब्य भारत हुने गर्दछ । भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम भित्रिएको पाइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !