‘छड्के कारबाही’ले धानेको निषेधाज्ञा

नेपालगञ्ज – प्रहरी निरीक्षक सुरज खत्रीको टोली एक्कासी आइपुग्यो । उनी चढेको भ्यान बाहेक ठूलो गाडीबाट दर्जन हाराहारीमा प्रहरी ओर्लिए । फोरलेन सडकको दुवैतिर बाँडिए । सवारी साधन रोक्दै ‘परिचयपत्र’ हेर्न थाले ।
परिचयपत्र नबोकेका व्यक्तिका मोटरसाइकलको चाबी थुतियो । छेउमा मोटरसाइकल राखियो । बढीमा १५/२० मिनेट प्रहरीले निषेधाज्ञाको असली डिउटी गरे । आधा दर्जन मोटरसाइकलको चाबी खोसियो । खत्री आफ्नो भ्यानमा चढेर धम्बोझीतिर हिडे । ठूलो गाडीमा रहेका प्रहरी गणेशमानचोकतिर गए । चावी प्रहरीले नै लगे ।
यो आइतबार अपरान्ह वीपीचोकमा देखिएको दृश्य थियो । प्रहरीको त्यो टोली गएपछि फेरि लकडाउन या निषेधाज्ञाको अनुभूति हुन छाड्यो । खत्रीको टोलीले १५/२० मिनेट गर्ने छड्के कारबाहीमा जो परे, परे । तिनीहरुको साइत खराब रहेछ भनेर बुझ्दा हुन्छ । त्यो अवधिबाहेक अगाडि र पछाडी न चेक भयो न त चाबी नै थुतियो । यसो हेर्दा लाग्थ्यो, बाँकेको निषेधाज्ञा त्यही १५/२० मिनेटमा गरिने छड्के कारबाहीले धानेको छ ।
चोकमा बसेर शुरुदेखि अन्त्यसम्मको दृश्य हेर्दा प्रहरीको काम कारबाही केटाकेटीको खेलजस्तो पनि लाग्थ्यो । फेरि कुरा आउँला, खत्रीको एउटा टोलीले यत्रो बजारमा कहाँदेखि कहाँसम्म भ्याउने ? एकै ठाउँमा बसेर साध्धे नै लाग्दैन ।
कोरोनाबारेमा जनता आफै सचेत हुनु पर्ने हो । प्रहरीले कारबाही गरेर नै घरभित्र हुल्नु पर्ने अवस्था किन आएको हो ? सकेसम्म घर बाहिर ननिस्किने र अत्यावश्यक काम परे स्वास्थ्य सावधानी अपनाएर सामाजिक दुरी काम गरेर निस्किदा भइहाल्छ नि । त्यसका लागि समय त छुट्याएकै छ ।


error: यो सुविधा उपलब्ध छैन !