अब आइसोलेसन सेन्टरमा ‘डाक्टर’
नेपालगञ्ज – बाँकेका आइसोलेसन सेन्टरमा डाक्टर खटाउने तयारी भएको छ । अहिलेसम्म आइसोलेसन सेन्टरमा आवश्यक पर्दामात्रै डाक्टरसँग परामर्श लिने गरिएको थियो । यस्तो परामर्श धेरैजसो फोनमै हुन्थ्यो ।
बाँकेमा १३ वटा आइसोलेसन सेन्टर छन् । आइसोलेसन सेन्टरमा लक्षण नदेखिएका कोरोना संक्रमितलाई राख्ने गरिन्छ । आइसोलेसन सेन्टरमा तीन-तीन जना स्वास्थ्यकर्मी खटाउने गरिएको छ । आइसोलेसन सेन्टरमा तोकेरै डाक्टर खटाउने तयारी भएको छ । यसो हुँदा आइसोलेसन सेन्टरमा कोही बिरामी भइहालेमा उसले तत्काल उपचार पाउँछ । त्यसो त लक्षण देखिने बित्तिकै बिरामीलाई आइसोलेसन अस्पतालमा लैजाने गरिन्छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जिल्लास्तरीय कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टरले यस्तो व्यवस्था गर्न थालेको हो ।
क्वारेन्टाइनमा पालिकाहरुले स्वास्थ्यकर्मी खटाउने गरेका छन् । भारतबाट आएकालाई सिधैं क्वारेन्टाइनमा राख्ने गरिएको छ । १४ दिनभित्र उसको परीक्षण हुन्छ । नेगेटिभ रिपोर्ट आए घर जान्छ । पोजिटिभ आएमा लक्षण देखिएका आइसोलेसन अस्पताल र लक्षण नदेखिएकालाई आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ ।