राष्ट्रिय टिममा एकैपटक सात जना
क्रमशः
अध्यक्ष पाण्डे काठमाडौँ फर्किनासाथ क्यान केन्द्रीय समितिको बैठक बसेर प्रथम राष्ट्रिय महिला क्रिकेट छनोट प्रतियोगिता आयोजना गर्ने निर्णय ग¥यो । २०६४ असार ५ देखि ८ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुने भयो । यो प्रतियोगिताको संयोजकको जिम्मेवारी मैले पाएँ । मोफसलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई पहिलोपल्ट काठमाडौमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको संयोजक बनाइएको थियो । त्यसैले यो मेरा लागि ठूलो जिम्मेवारी बन्यो । मेरो नेतृत्वको क्षेत्र नं. ५ नेपालगन्ज राष्ट्रिय प्रतियोगिता खेल्न आतुर थियो । क्षेत्र नं. ४ रूपन्देहीले पनि टिम तयार गरिसकेको थियो । यो प्रतियोगितामा तीनवटा क्षेत्रको सहभागिता हुने भयो । अन्तिम समयमा क्षेत्र नं. ६ बैतडी पनि सहभागिताका लागि तयार रहेको जानकारी आयो । तत्कालीन केन्द्रीय सदस्य चतुरबहादुर चन्दले सहभागिताका लागि मसँग आगह्र गरे । पहिलो राष्ट्रिय छनोटमा बैतडीको रुचिलाई हामीले सकारात्मक ठान्यौ । तीन टिम खेल्ने तय भइसकेको प्रतियोगितामा मेरो आग्रहमा क्षेत्र नं. ६ थप्न केन्द्रीय समिति सहमत बन्यो ।
काठमाडौँको लेब्रोटरी स्कुलमा भएको छनोट प्रतियोगिताको च्याम्पियन क्षेत्र नं. ५ नेपालगन्ज बन्यो । यो छनोट प्रतियोगिता गराउनुको प्रमुख उद्देश्य सन् २००७ जुलाई ११ देखि १८ सम्म मलेसियाको जोहारबारुमा हुने प्रथम एसीसी महिला क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाउनु थियो । सहभागीमध्येबाट २५ जना प्रारम्भिक छनोटमा परे । त्यसमा उद्गमथलो बाँकेका आठ खेलाडी थिए । अन्तिम १४ जनाको टोलीमा सम्झना शर्मा बाहिरिन् । अरू सात जना राष्ट्रिय टोलीमा पर्न सफल भए । यसरी पहिलो राष्ट्रिय टोलीमा बाँकेको बर्चस्व रह्यो । नेपालगन्जकी नेरी थापा कप्तान भइन् । ममता थापा, विनु बुढामगर, केशरी चौधरी, कृष्णा सिंह, सीता राना र मनीषा रावल टिममा परे । क्षेत्र नं. ५ ले ५० प्रतिशत होल्ड गर्न सफल भयो, क्षेत्र नं. ६ बाट दुई जना र ४ बाट चार जना तथा काठमाडौँबाट एक जना राष्ट्रिय टिममा परे ।
राष्ट्रिय टिम बनेपछि म धेरै हर्षित थिएँ । २०६१ सालमा बाँकेमा प्रथम छात्रा क्रिकेट प्रतियोगिता गराइरहँदा एउटा ठोस नीति र योजनाका साथमा अगाडि बढ्ने हो भने आउने तीन वर्षमा एउटा सशक्त राष्ट्रिय टिम बन्न सक्छ भन्ने मैले कान्तिपुर दैनिक र नेपाल म्यागजिनलाई अन्तर्वार्ता दिएको थिएँ । त्यो अठोट २०६४ मा पूरा भएको थियो ।
नेपाली क्रिकेट इतिहासमा पहिलोपटक महिलाको राष्ट्रिय टिम बन्यो । यो समग्र क्रिकेटकै लागि खुसीको कुरा थियो । सबै उत्साही थिए । तर, क्षेत्र नं. ६ बैतडीका साथीहरूले बसिखान दिएनन् । राष्ट्रिय टिममा एउटै क्षेत्रका सात खेलाडी राखेकामा उनीहरूको आपत्ति थियो । उनीहरूले ममाथि मनोमानी गरेको आरोप लगाए । विभिन्न शक्तिकेन्द्रमार्फत दबाब दिन थाले । कतिले अपशब्द प्रयोग गरे, बाटोमा भेटिँदा पनि नमिठो र धम्कीका भाषा बोले । तर, म विचलित भइन । किनभने, छनोट भएका खेलाडीमा प्रश्न उठाउने कुनै ठाउँ थिएन ।
उनीहरूको मप्रतिको आक्रोश किन पनि जायज थिएन भने छनोट समितिको संयोजक म थिइनँ, क्यानका सचिव शशिदत्त पाण्डे थिए । सदस्यमा प्रशिक्षक जङ्गबहादुर थापा थिए । म समग्र प्रतियोगिताको संयोजक थिएँ, खेलाडी छनोटको अधिकार नै थिएन । मेरो प्रमुख दायित्व भनेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु मात्र थियो । साथीहरूले यो कुरा बुझेनन् वा नबुझेजस्तो गरे । धेरै सम्झाएपछि मात्र सहमतिमा आए ।
महिला क्रिकेटको पहिलो पुस्ताका किशोरीहरूका केही भिन्न विशेषता थिए । खासगरी बाँकेका खेलाडीहरू जसलाई हामीले स्कुले पोसाकमै मैदानमा ल्यायाँै । बल र ब्याट बोक्न सिकायौँ । ब्याटिङ र बलिङमा निपुण बनायौँ । बाँकेका साना मैदानदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानसम्म पुर्याएर ट्रफी उचाल्यौँ । देशको सान बढायौँ । यी नानीहरूप्रति मलाई असाध्यै धेरै गर्व लाग्छ । नेपाली महिला क्रिकेटको इतिहासमा उनीहरूको नाम स्वर्ण अक्षरले कुँदिनेछ । हामी त माध्यम मात्र थियौ, खेल्ने त उनीहरू नै थिए । उनीहरूलाई सलाम । ऐतिहासिक पहिलो राष्ट्रिय टिमका सदस्यका आ–आफ्ना भिन्न खुबी थिए ।
नेरी थापा, प्रथम कप्तान :
यस्तो लाग्छ, ईश्वरले नेरीलाई क्रिकेटकै लागि जन्माएका हुन् । क्रिकेट सुरु हुनुअघि उनी ब्याडमिन्टनकी जुनियर राष्ट्रिय च्याम्पियन हुन् । वि.सं. २०६१ मा उनी अध्ययनरत मङ्गलप्रसाद मावि मैदानमा महिला क्रिकेटको लहर देखेपछि आकर्षित भइन् । उनका बुबा लिलु थापा बक्सिङका प्रशिक्षक रहेकाले पनि उनले घरमै खेल संस्कार पाइन् । ब्याडमिन्टनभन्दा क्रिकेटमा राम्रो हुने देखेर हामीले उनलाई सल्लाह दियाँै । नभन्दै, उनले क्रिकेटमा आफूलाई राम्रैसँग प्रमाणित गरिन् । सुरुमा मङ्गल माविका खेल शिक्षक दुर्गा थापाले नेरीलाई सुरुआती प्रोत्साहन गरे । उनको हातमा बल र ब्याट पर्नासाथ प्रतिभा पहिचान भइसकेको थियो । क्रिकेटको उमेर समूह र सिनियर दुवैमा राष्ट्रिय टिमको नेतृत्व गर्ने सुवर्ण अवसर पनि उनैले प्राप्त गरिन् । अझ दुवै प्रतियोगितामा ऐतिहासिक सफलता हासिल भयो । एसियाली क्रिकेट परिषद् (एसीसी)ले पहिलोपटक आयोजना गरेको र नेपालले पहिलोपटक भाग लिएको एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा उपविजेता र लगत्तै अर्को वर्ष एसीसीले सुरु गरेको उमेर समूहको एसीसी यू– १९ प्रतियोगितामा विजेता बन्दा नेरी नै टिमकी कप्तान थिइन् । यस्तो अवसर विरलै खेलाडीले पाउँछन् । एसीसीले समेत उमेर समूहमा सर्वोत्कृष्ट भनेर नेपालका पारस खड्का र नेरी थापालाई पुुरस्कृत गरेको थियो । नेरीको कप्तानी सधैँ सफल छ । बरू, उनलाई जिम्मेवारी नदिँदा नेपालको उपलब्धि गुमेको छ । समय एकै नहुँदो रहेछ । नेरीलाई कप्तानी त के टिममै नराख्नेसम्मको अवस्था आयो । ग्वान्जाव एसियाड जानुअघि टिमबाट निष्कासन गर्ने हल्ला चल्यो । उनको अनुशासनमाथि प्रश्न उठ्यो । आज पनि उनी निरन्तर क्रिकेटमै छिन् । उनको प्रतिभा र क्षमता साँच्चिकै लोभलाग्दो छ । खेलकुद पत्रकार मन्चबाट पुरस्कतृ उनलाई क्रियटिभ हयन्डस्ले काठमाडौंमा स्कुटरसहित सम्मान गरेको थियो । तर, राष्ट्रिय टोलीको कप्तान भइसकेको खेलाडीलाई राज्यले कुनै प्रोत्साहन गरेन । नेपाली क्रिकेटको एउटा कालखण्डकी यी चर्चित र महान् हस्ती हुन्, मेरा नजरमा ।
केशरी चौधरी :
केशरी चौधरी विद्यालयस्तरको एथलेटिक्समा चर्चित थिइन् । उनी एन्जल्स स्कुलमा पढ्िथन् । विद्यालयस्तरका जुनसुकै प्रतियोगितामा खेल्नुपर्ने बाध्यता उनलाई पनि थियो । उनी क्रिकेटमा आइन् । केशरीमा खेलाडीमा हुनुपर्ने गुण पर्याप्त थियो । यसले नै उनलाई क्रिकेटको बाटो खोलिदियो । पढ्ने र खेल्ने गरी उनी बर्दियाबाट नेपालगन्ज आएकी थिइन् । उनले क्रिकेटमा राम्रै गरिन् । उता, एथलेटिक्समा पनि उनको साधना निरन्तर थियो । हाइजम्प, लङजम्प र टिप«लजम्पकी उनी राष्ट्रिय कीर्तिमानधारी एथलिट हुन् । बङ्गलादेशको ढाकामा भएको ११औँ दक्षिण एसियाली खेलकुदमा उनी काँस्य पदक जित्नबाट झिनो अन्तरले चुकेकी थिइन् । उनको प्रतिभा लोभलाग्दो छ । नेपाल पुलिस क्लबमा आबद्ध केशरी सन् २०१० पछि पूर्णतः एथलेटिक्समा समर्पित भइन् । उनका गुरु चन्द्र गुरुङ थिए । अहिले पुलिसको जागिर छाडेर उनी रोजगारीका लागि दुबईमा छन् । हाम्रो विडम्बना !
ममता थापा :
ममता थापा कोहलपुरको ग्रिनपिस स्कुलमा पढ््थिन् । उनमा खेलप्रतिको समर्पणभाव थियो । बुबा वीरबहादुर थापा भारतीय गोर्खा सेनामा थिए । उनले छोरीलाई क्रिकेटमा प्रोत्साहित गरे । ममता सानैदेखि निडर स्वभावकी थिइन् । सन् २००७ मा जब नेपाली महिला टोली पहिलोपटक मलेसिया पुग्यो । उनीहरूका लागि खाजा किन्न बजार जाँदा मैले ममतालाई नै लिएर जान्थेँ । अङ्ग्रेजी बोल्न सक्ने र जोसँग पनि कुराकानी गर्न सक्ने उनको पहिलेदेखिकै बानी हो । यही बानीले गर्दा आज ममता मोडल र सञ्चारकर्मी छिन् । क्रिकेटले नै उनको ख्याति बढायो । राष्ट्रिय टोलीकी सफल विकेटकिपर उनी नेपालको उपकप्तान पनि भइन् ।
मनीषा रावल :
मनीषा रामजानकी उच्च माविमा पढ्थिन् । उनी प्रारम्भिक छनोटमा संयोगले परेकी थिइन् । अन्जना सिग्देललाई घर परिवारले खेल्न नदिएपछि मनीषाले चान्स पाइन् । र, पछि अन्तर्राष्ट्रिय खेलाडी बनिन् । मनीषा हल्का चञ्चल स्वभावकी थिइन् । एकदमै मिहिनेत गरेर उनले ब्याटिङमा सुधार गरिन् । उनका बुबा शरदचन्द्र रावल शिक्षक छन् । घरपरिवारले मनीषालाई सहयोग नै गरे । मनीषाले पनि सन् २००७ देखि २०१० सम्म खेलिन् । उनी अहिले एसओएस सुर्खेतमा कार्यरत छिन् । वि.सं. २०६३ को पहिलो लेदर बलको प्रतियोगिताको मनीषा सर्वोत्कृष्ट खेलाडी थिइन् । सन् २००७ मा हङकङविरुद्धको खेलमा मनीषाले लामो पारी लेखेर जितमा सहयोग पु¥याएकी थिइन् । त्यो उनको उत्कृष्ट पारी थियो ।
सीता रानामगर :
सीताले ग्रिनपिस स्कुलबाट क्रिकेटको सुरुआत गरिन् । उनले कहिले स्कुलमा त, कहिले कोहलपुर क्रिकेट मैदानमा अभ्यास गर्थिन् । सीताको बलिङ राम्रो थियो । उनले नसिकेरै स्विङ गर्न थालेकी थिइन् । उनलाई स्विङका बारेमा थाहा थिएन, आफसे आफ हुन्छ भन्थिन् । पछि मैले सम्झाएँ । सीताको घर चप्परगौडी हो । सुरुआती चरणमा सीताका घरपरिवारले रोक्न खोजेका थिए । तर, खेलमा उनको प्रगति र लगाव देखेपछि हामीले घरपरिवारलाई अनुरोध गरेर खेलायौँ । पछि उनलाई खेल्नबाट कसैले रोक्न सकेन । उनी पनि प्रतिभाशाली खेलाडी हुन् । सन् २००७ देखि अहिलेसम्म निरन्तर राष्ट्रिय टिममा छिन् । सुरुमा बोल्न पनि डराउने, लजालु स्वभावकी सीताको खेलसँगै व्यक्तित्व पनि निखारिएको छ । उनी अहिले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छिन् ।
बिनु बुढामगर :
बिनु अलराउन्डर खेलाडी हुन् । फिल्डिङ अति राम्रो थियो, बलिङ र ब्याटिङ दुवै उस्तै उत्कष्ृट । एन्जल्स माविमा पढ्िथन् । वि.सं. २०६३ मा लेदर बलले प्रतियोगिता गराउदाँ बिनु प्लेयर अफ फाइनल भएकी थिइन् । पहिलोपटक वि.सं. २०६१ मा उनी सर्वोत्कष्ृट खेलाडी घोषित भएकी थिइन् । केही वर्षयता उनी राष्ट्रिय टिममा परेकी छैनन् । सशस्त्र प्रहरीमा कार्यरत छिन्, त्यहीँबाट खेल्छिन् । राष्ट्रिय टोलीमा सन् २०१० सम्म खेलिन् । बिनु नेपालगन्जकी हुन्, एन्जल्स स्कुलको सुरुआती टोलीकी उनी महत्वपूर्ण खेलाडी थिइन् । अहिले उनी विवाहित जीवन यापन गर्दैछिन् ।
तृष्णा सिंह :
तृष्णाको स्लो बलिङ र ब्याटिङ राम्रो छ । नेपालगन्जको मङ्गलप्रसाद माविमा पढ्थिन् । कम बोल्ने उनी पहिलोपल्ट सन् २००७ मा राष्ट्रिय टोलीमा पर्दा विश्वासै गरेकी थिइनन् । राष्ट्रिय टिममा रहँदा उनले राम्रै खेलिन् । पाँच÷छ वर्षयता उनी राष्ट्रिय टिममा परेकी छैनन् । सानो कदकी तृष्णाको ब्याटिङ र बलिङमा आफ्नै शैली थियो । सुरुआतमा यिनको बलिङ एक्सनमा अलिकति समस्या देखिएको थियो । बल फाल्दा थ्रोजस्तो देखिन्थ्यो । हामीले त्यसलाई सच्याउने प्रयास ग¥यौँ, सच्याइन् पनि । हाल उनी एउटा अडिट फर्ममा कार्यरत छिन् ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)