बाँकेमा एकै दिन २९ स्याम्पल संकलन
नेपालगञ्ज – बाँकेमा मंगलबार २९ वटा स्याम्पल संकलन गरिएको छ ।
मस्जिद रहेका दश जनासहित २९ जनाको स्याम्पल संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । फूल्टेक्रास्थित मस्जिदमा प्रमुख जिल्ला अधिकारी, नेपालगञ्जका मेयर, सबै धर्मका गुरुहरुको उपस्थितिमा १० जनाको स्याम्पल संकलन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, मेयर डा. धवलशमशेर राणा, धर्मगुरुहरुले व्यक्ति, समुदाय विशेष नभई जोखिममा रहेका सबैको स्याम्पल जाँच गरिने बताउनुभयो । मस्जिद पछि बागेश्वरी मन्दिरमा स्याम्पल संकलन गरिने तयारी भएको छ ।
बाँकेमा अहिलेसम्म ६४ जनाको स्याम्पल संकलन गरिएको छ । त्यसमध्येमा ३५ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । मंगलबार संकलन गरिएको २९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । बर्दियामा ६३ जनाको स्याम्पल संकलन गरिएको छ । त्यसमध्येमा ४३ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । बाँकी २० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । दाङबाट १२ जनाको स्पाम्पल आएकोमा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा ल्याब सञ्चालनमा आएपछि ९० जनाको रिपोर्ट आइसकेको छ । तीन जिल्लाबाट एक सय ३९ वटा स्याम्पल आइपुगेको थियो । ४९ वटा स्याम्पल जाँच हुन बाँकी रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।