दिनभरी बाटोमै उभिनु पर्ला है ?

नेपालगञ्ज – प्रहरीले चार बजेपछि कडाई गर्छ । त्यसअघि खुकुलो छ भन्ने भ्रममा हुनुहुन्छ भने सुध्रिहाल्नुस् है । नत्र, ‘ठाउँको ठाउँ उभिरहनु’ पर्ला !
बाँके प्रहरीले तीन बजे अघि हिड्नेलाई पनि कारबाहीको नीति बनाएको छ । अनावश्यक हिड्नेलाई ठाउँको ठाउँ दिनभरी उभ्याउन थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले अनावश्यक हिड्नेलाई बाटोमै दिनभरी उभ्याउने जानकारी दिनुभयो ।
बाँके प्रहरीले लकडाउनमा हिड्नेलाई ‘मेन क्याच स्टीक’ले समातेर दिनभरी नियन्त्रणमा राख्ने र साँझ छोड्ने, सवारी साधनको चाबी खोस्ने र भोलीपल्ट दिने काम गरिसकेको छ । यी सबै प्रयोग गर्दा पनि मान्छेको मुभमेन्ट भइरहेपछि चार बजेपछि खाद्य पसलसमेत बन्द गरेर हिड्डुल रोकिएको छ । यो प्रभावकारी देखिएको छ ।
तर, चार बजेपछि मात्रै प्रहरीले कडाई गर्छ भन्ने बुझाईले मानिसहरु त्यसअघि सडकमा निस्किन थालेपछि प्रहरीको टाउको दुखाई भएको हो । बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले तीन बजे अघि पनि कडाई गरिएको र अनावश्यक हिड्नेलाई जहाँ भेटियो, त्यही दिनभरी उभ्याइरहने बताउनुभयो । ‘प्रहरीले चार बजेपछि कडाई गर्छ । त्यसअघि खुकुलो छ भन्ने बुझाई हुन थाल्यो । त्यस्तो त होइन, प्रवक्ता सिंहले भन्नुभयो, हामीले अरु बेला पनि हिड्न पाइदैन भन्ने बुझाउन ठाउँको ठाउँ कारबाहीको नीति लिएका छौं । अनावश्यक हिड्ने जहाँ भेटिन्छन्, त्यही दिनभरी उभिरहन्छन् ।’
प्रहरीले मंगलबार बसपार्क क्षेत्रमा ६५ जनालाई यसरी बाटोमा उभ्याएको थियो । यो नीतिलाई प्रभावकारी बनाउन टोली खटाइसकिएको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !