कहाँ छन् ७ सय ३८ जना ?

नेपालगञ्ज – लकडाउनको आसपासमा बाँकेमा भारत तथा तेस्रो मुलुकबाट एक हजार ६ सय २२ जना भित्रिए ।
गाउँपालिकाहरुले पठाएको तथ्यांक अनुसार, भारतबाट एक हजार चार सय ७३ र तेस्रो मुलुकबाट एक सय ४९ जना भित्रिएका थिए । एक हजार ६ सय २२ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिदा ‘आरडीटी’ र ‘पीसीआर’ जाँचमा ६ सय ६९ जना आइपुगे । अहिले क्वारेन्टाइनमा २ सय १५ जना रहेका छन् । दुवै जोड्दा आठ सय ८४ भयो ।
पालिकाहरुकै तथ्यांकलाई हेर्दा पनि पीसीआर र आरडीटी जाँच नभएका तथा क्वारेन्टाइनमा समेत नरहेका ७ सय ३८ जना कहाँ छन् ? प्रश्न उब्जिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ७ सय ३८ जना घरघरमै छन् । अर्थात, उनीहरु होम क्वारेन्टाइनमा छन् ।
जिल्लामा अहिले यी मानिसहरु जोखिमको सूचीमा छन् । जिल्ला स्वास्थ्य कार्यालयले यी मानिसहरुको खोजी गर्दै पीसीआर जाँच गर्ने रणनीति बनाएको छ ।
जिल्लामा पीसीआर जाँचका लागि दुई सय किट आएको छ । त्यो किट यही मानिसमा प्रयोग हुने श्रेष्ठले बताउनुभयो । क्वारेन्टाइनमा रहेकालाई भने आरडीटी जाँच नै गर्ने तयारी भएको छ ।
बाँकेमा अहिलेसम्म ५ सय ४३ जनाको आरडीटी जाँच भएको छ । एक सय २६ जनाको पीसीआर जाँच भएको छ ।
लकडाउनको आसपासमा आएका व्यक्तिसँगै मन्दिर र मस्जिदमा रहेका व्यक्तिहरुको पनि पीसीआर जाँच गर्ने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !