महिला क्रिकेटको उदय
क्रमशः
नयाँ प्रतिभाको खोजीको सबैभन्दा राम्रो सम्भावना विद्यालयमा हुन्छ । त्यसैले हाम्रो प्राथमिकता स्कुल तहमै थियो । त्यसै पनि, किशोरीहरू धेरै जिज्ञासु हुन्छन् । त्यसमाथि, लैङ्गिक समानताको नारा लिएर जाँदा धेरैभन्दा धेरै सहभागी हुनेमा हामी ढुक्क थियौं । हामीले जिल्ला शिक्षा कार्यालयसँग समन्वय ग¥यौं । तत्कालीन जिल्ला शिक्षा अधिकारी विष्णु थैव निकै उत्साहित भए । उनी यो अभियानको राम्रा सहयोगी बने । उनले सहभागिताका लागि ४० विद्यालयलाई पत्राचारसमेत गरिदिए । म आफैँ २२ विद्यालयमा पुगेँ । जहाँ पुगियो, सुरुमा सम्झाउनै गाह्रो । छात्रा क्रिकेट सुन्नासाथ प्रधानाध्यापकहरू कान ठाडा पार्थे, केही उत्साह, धेरै आश्चर्यभावका साथ सोध्थे, ‘भलिबलमा ६ जना पु¥याउन त धौ धौ हुन्छ । क्रिकेटमा ११ जना कहाँ खोज्ने ?’ उनीहरूले निमावि र मावि तहका किशोरीहरूलाई कक्षामा गएर सोधेछन् । किशोरीहरू तयार देखिएपछि केही प्रधानाध्यापकले खुसी हुँदै फोन पनि गरेका थिए । अन्ततः ३३ विद्यालय सहभागी हुने भए । माघदेखि फागुनको पहिलो सातासम्म हामीले तालिम प्रशिक्षण गरायौं । मङ्गलप्रसाद मावि, ग्रिनपिस मावि, सगरमाथा ज्ञानकुञ्ज, त्रिभुवन मावि, रामजानकी मावि, सूर्योदय मावि, बालज्योति, बाल विद्या, एन्जल्स स्कुलका किशोरी अन्यत्रका भन्दा धेरै उत्साहका साथ मैदानमा उत्रिएका थिए । हामीले विद्यालय पुगेर प्रशिक्षण दियौं । मैदान नहुने विद्यालयका किशोरीलाई उनीहरूकै अनुकूलताका मैदानमा ल्याएर पनि खेलायौँ । तीनदिने तालिममा धेरै सिक्नु के थियो र ? छोरीहरूले पहिलोपल्ट बल र ब्याट छोए, त्यत्ति हो । बल फाल्ने कोसिस गरे, ब्याटले हाने । धेरैको ब्याटिङमा बल पर्दैनथ्यो । तैपनि, नानीहरू खुसी थिए । उत्साहित थिए । नेपालगन्जका भित्री गल्लीमा पनि बल र ब्याट लिएर किशोरीहरू हिडँेको देखिन थालेको थियो । थुप्रै युवक उनीहरूलाई आफ्नै लबजमा जिस्क्याउँथे, ‘अब्बे, देखो लड्कीका क्रिकेट ।’ किशोरीहरू पनि के कम ! भनिदिन्थे, ‘देखने के लिए कल आना एमपी मैदान ।’ नयाँ विषयको सामथ्र्य भनेकै आकर्षण हो । जानेर–नजानेर स्कुल तहका किशोरीहरूमा क्रिकेट क्रेज बढेको थियो ।
प्रशिक्षणको माग गरेकामध्ये सिधनवा केन्द्रमा प्रशिक्षण दिन सकिएन । कारण, माओवादी द्वन्द्व थियो । द्वन्द्व उत्कर्षमा रहेका बेला सिधनवा मावि रहेको साबिक विनौना गाविस बढी नै प्रभावित मानिन्थ्यो । बाँकेका ग्रामीण बस्तीमध्ये यो क्षेत्र निकै संवेदनशील थियो । एकातिर राजा ज्ञानेन्द्र शासन सत्ता हातमा लिएर आफैं मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए । सहरबाट सुरक्षाकर्मी गाउँ छिर्न खोज्थे । अर्कोतर्फ, गाउँबाट माओवादीहरू सहर पस्न खोज्दै थिए । परिदृश्य हेर्दा देशमा सैनिक शासनजस्तै लाग्थ्यो । गाउँगाउँमा पुगेर प्रशिक्षण गराउन साँच्चिकै कठिन थियो । सेना र प्रहरीका चेकिङ र सोधपुछले साथीहरूलाई हैरान बनाउँथ्यो । त्यसमाथि स्कुले किशोरीहरू बटुलेर प्रशिक्षण दिनु पथ्र्यो । मैदानमा शारीरिक व्यायामसहित अभ्यास प्रशिक्षण दिँदा जुनसुकै बेला अर्को अर्थ लाग्न सक्थ्यो । त्यो जोखिम मोल्न सकिन्न भनेर धेरै प्रशिक्षक साथीहरू मकहाँ आएर विरक्त पोख्थे । खेलकुद आफैंमा शान्ति क्षेत्र हो । तर, गाउँसहर कतै शान्ति थिएन । त्यसैले सदरमुकामबाहिर जान धेरै सोच्नु पथ्र्याे । हामी विशुद्ध महिला क्रिकेट र खेल संस्कृतिका लागि गाउँ पसिरहेका थियौँ । तर, हाम्रो मुख्य सहयोगी प्लान थियो । माओवादीहरू एनजीओ, आईएनजीओका गतिविधिलाई शङ्काका दृष्टिले हेर्थे । हामीले त विशुद्ध खेलकुद अभियानमा साझेदारी गरेका थियौं । त्यसै पनि खेलकुद गैरराजनीतिक क्षेत्र हो, शान्ति क्षेत्र हो भन्नेमा म विश्वस्त थिएँ । खेलकुदमा कुनै जात, धर्म, वर्ण, वर्ग र राजनीतिको कुनै अर्थ हुँदैन । देश र समाज मात्र होइन, संसारलाई जोड्ने भावना हुन्छ खेलकुदमा । पाकिस्तानी क्रिकेट सुपरस्टार इमरान खानले प्रधानमन्त्री पदको शपथ लिँदा भारतीय क्रिकेटर कपिलदेवलाई निम्तो दिए । भारत–पाक शीतयुद्धलाई चिर्दै आपसी भाइचाराको सम्बन्ध विस्तार गर्ने सानदार तरिका यही थियो सायद । ग्रीसका २ वटा शक्तिशाली र एकअर्काका परमशत्रु स्पार्टा र एथेन्सबीच खेलकुदको गतिविधि हुन थालेपछि शान्ति, सदभव र भाइचाराको विकास भएको ऐतिहासिक दस्तावेज र घटनाक्रमले समेत प्रमाणित गर्छन् । नबुझ्नेहरूलाई हामी त्यतिबेलाका यस्तै उदाहरण दिएर बुझाउँदै गयौं ।
प्रारम्भमा हामीले किशोरीहरूको पारिवारिक पृष्ठभूमि, रुचि र सम्भावनाका बारेमा फारम भरायौं । व्यक्तिगत विवरणकै आधारमा पनि क्रिकेटर बन्न सक्ने प्रतिभा छनोट गर्न सहयोग पुग्थ्यो । अभिभावकको पेसा र व्यवसायले पनि किशोरीको भविष्य निर्धारण गर्छ । तीन उपसमिति बनाएर हामीले कामलाई तीव्रता दियौं । मेरो नेतृत्वमा २५ सदस्यीय मूल समिति बन्यो । महिला क्रिकेटको शुभारम्भ गर्ने त्यो अभियानको मितव्ययी खर्च अनुमान ३ लाख ३६ हजार १ सय ९५ रुपैयाँँ मात्र थियो । त्यसमा प्लान नेपालले महत्वपूर्ण साझेदारी ग¥यो । सगरमाथा ज्ञानकुञ्ज माविबाट हाम्रो प्रशिक्षण यात्रा सुरु भयो । पहिलोपटक छोरीहरूलाई क्रिकेटका ब्याट र बल समात्न सिकाउँदै थियौं । मलाई त्यस बेला सिङ्गो टिमले साथ दियो । कोहलपुर क्षेत्रको सम्पूर्ण जिम्मेवारी मैले सम्हालेँ, नेपालगन्ज क्षेत्र सुनिलसिंह हमालले हेरे । हमाल त्यतिबेला मेरो कार्यसमितिमा सचिव थिए । उनी स्वयम् राम्रा क्रिकेटर थिए, राष्ट्रिय अम्पायर पनि । कुनै बेला म उनैलाई खोज्दै एमपी स्कुलको मैदानमा पुगेर स्वदेशी क्रिकेट प्रतियोगितामा पाइला चालेको थिएँ । महिला क्रिकेट अभियानमा उनको दह्रो साथ पाएर म उत्साहित थिएँ । मनमोहन लम्सालले नियमहरू सिकाए । उनी कार्यसमिति सदस्य थिए । उनले एसीसी लेभल–१ अम्पायरको लाइसेन्ससमेत पाइसकेका थिए । यसरी महिला क्रिकेट बाँकेका गाउँ र सहरका विभिन्न प्रशिक्षण केन्द्रसम्म पुग्यो । अरुण थापा, जाबेद सिद्दिकी, जमिल अन्सारी, दुर्गा सेन, सञ्जयराज सिंह, नसिर अन्सारी, खगेन्द्र कुँवर, दीपेन्द्रप्रताप सिंह, इरफान सिद्दिकी, महेश क्षेत्री, मन्जुल भट्टराई, सन्दीप ओली, होमेन्द्र क्षत्रीजस्ता नयाँ र पुराना खेलाडीहरूले विद्यालयमा पुगेर किशोरीहरूलाई मैदानमा उतारेका थिए । म र मम्मु दाइ पनि प्रशिक्षणमा समेत लाग्यौ ।
प्रशिक्षणमा खटिएका सबै दक्ष थिए, क्रिकेट बुझेका खेलाडी थिए । दीपेन्द्रप्रताप सिंह राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकसमेत रहेकाले म उनीप्रति पूर्ण विश्वस्त थिएँ । अरुण एक समय राष्ट्रिय टिमका प्रभावशाली सदस्य थिए । जमिल, जाबेद, दुर्गा र खगेन्द्र दाइ पनि आफ्ना समयका राम्रा क्रिकेटर मानिन्थे । महेश र इरफान त्यतिबेला यू–१९ राष्ट्रिय टोलीमा थिए । महेश त लामो समय राष्ट्रिय टिमबाट खेलेर ऐतिहासिक एक दिवसीय विश्वकप खेल्ने अवसर पाएका खेलाडी हुन् । मन्जुल, सन्दीप र होमेन्द्रको क्रिकेट लगाव पनि साँच्चै लोभलाग्दो थियो । मञ्जुल राम्रो क्रिकेट अम्पाएर (अन्तर्राष्ट्रिय स्तरको) बने । विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरू गर्न सफल भइसकेका छन् । जमिलले राष्ट्रिय महिला क्रिकेट टिमकै प्रशिक्षकको जिम्मेवारी प्राप्त गरे । महिला क्रिकेटका कारण बाँकेका धेरै क्रिकेटरले आफूलाई सफलताको उचाइमा पु¥याए । यो सबै देख्दा मलाई साह्रै खुसी लाग्छ । होमेन्द्रले अन्तर्राष्ट्रिय स्कोररका रूपमा पहिचान बनाए ।
प्रशिक्षणका बेला चिन्तामणि धिताल, मदन रावत, कैलाश रोकायलगायतले व्यवस्थापकीय पक्षमा स्मरणीय योगदान पु¥याए । सुरुमा हामीले सरल भाषामा क्रिकेट सिकायौ । प्रशिक्षणमा सहभागी किशोरीहरू दङग् थिए । जस्तो : पहिलोपटक स्कुल जान तरखर गरेको बालकले कलम समाएझैं ब्याट समात्दा उनीहरू अचम्मित हुनु स्वाभाविकै थियो । क्रिकेट आफैंमा बहृत् क्षेत्र हो । यसमा सिक्ने र सिकाउने कुरा धेरै हुन्छन् । तर, पहिलोपटक कलम समातेको बच्चालाई क लेख्न सिकाएझैं सुरुमा त आफैं बल फाल्न र ब्याट समातेर हान्न प्रेरित ग¥यौं ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)