घसियारनलाई पनि खाना दिएर घर भित्र राख न सरकार
नेपालगञ्ज – सामाजिक सञ्जालमा वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले लेख्नुभयो, ‘यतिबेला घसियारन टोलका घसियारा, बेलासपुरका चिडिमार, ईन्द्रपुर, फुल्टेक्रा, मनिकापुरका कुशबँधियाका गुजारा चलिरहेकै त होला ?’
कोठाको अगाडि बराण्डमा बसेर वरिष्ठ पत्रकार कर्माचार्यको स्टाटस हेर्दै थिए, नजिकै तीन जना घसियारन महिला घाँस काट्दै गरेको देखिए । दुई जनाले मास्क लगाएका थिए । एकजनाको मास्क थिएन । मास्क लगाएको देखिदा उनीहरु पनि कोरोनाप्रति सचेत रहेको जो कोहीले बुझ्ने कुरा भइहाल्यो ।
तर, बाध्यता छ उनीहरुलाई । घाँस नकाटी हुँदैन । घाँस काटेर बेचेपछि मात्रै बल्छ उनीहरुको चुल्हो । यो भावनामा बगेको कुरै होइन, नेपालगञ्ज–८, महेन्द्रपार्कको छेउमा रहेको घसियारनको बस्तीमा जादा सबै छर्लङ्ग हुन्छ ।
यतिबेला सरकारले सबैलाई घरभित्र बस्न भनेको छ । अटेरीहरु सडकमा निस्किएका छन् । सडकमा निस्किएका कतिपयले पिटाइ खाएका छन् । प्रहरीले पिटेर घरभित्र बस भन्नु परेको छ । बाइकको चाबी थुत्नु परेको छ । यो ‘हुनेखाने’को कुरा भयो ।
‘हुँदा खाने’ घसियारनको मर्का कसले बुझिदिने ? घरभित्र बसेर पुग्ने भए उनीहरु घाँस काट्न अरुको आँगन, खेतबारीमा पुग्थे होलान् ? पुग्ने भए सरकारको घर बाहिर ननिस्किनु भन्ने उर्दीलाई उनीहरुले हाँसी हाँसी स्वीकार्थे होलान् । तर, के गर्नु लकडाउनमा पनि उनीहरुलाई घाँस काट्नु पर्ने बाध्यता छ । पेटको जो सवाल जोडिएको छ । यही कुरा बुझेर नै नेपालगञ्जका रैथाने वरिष्ठ पत्रकार कर्माचार्यले उनीहरुको गुजारा कसरी चलेको होला भन्ने प्रश्न गर्नु भएको होला ।
नेपालगञ्जको मुटुमा पर्ने त्रिभुवनचोक नजिकै बस्ने यी शहरीया गरीवको घरमा शौचालयसमेत छैन । नेपालगञ्ज उपमहानगरपालिकाले बनाएको सार्वजनिक शौचालय प्रयोग गर्छन् । महेन्द्र पार्कको पर्खालसँगै अपरान्ह घाँस बेच्न बस्ने घसियारनले पातको दुना टपरी पनि बनाउँछन् । पेट पाल्नका लागि भगवानले कुनै न कुनै सीप दिएर पठाउँछन् भन्ने बुढापाकाको भनाईलाई सापट लिने हो भने घसियारनको अवस्था त्यस्तै देखिन्छ ।
तर, दिनभरी घाँस काट्न हिड्ने घसियारन महिलामात्रै देखिन्छन् । पुरुष त्यति देखिदैनन् । गाउँगाउँमा सिंहदरबार भन्ने स्थानीय तहले फोकटमा बस्ने यस्तालाई कुनै न कुनै सीप सिकाएर आम्दानीको स्रोत पत्ता लगाइदिने हो कि ?