एटीएमबाट एक लाख रुपैया निकाल्न पाइने

काठमाडौँ — एटीएम मेसिनबाट दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने भएको छ । गत भदौ अघिसम्म एक लाख रुपैया निकाल्ने व्यवस्था रहेपनि त्यसपछि दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था गरिएको थियो ।
गत भदौमा चिनियाँ नागरिकले नक्कली एटीएम कार्डबाट रकम चोरीको घटना पछि राष्ट्र बैंकले सीमा घटाएको थियो । फेरी पुरानै अवस्थामा लगिएको छ । राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनमा उक्त व्यवस्था रहेको छ । हालको व्यवस्था अनुसार अब एटीएम (डेविट कार्ड) कारोबारमा नागरिकले न्यूनतम् ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढिमा एक लाख रुपैयाँ निकाल्न पाउँछन् ।
यसअघि प्रति कारोबार २० हजार र प्रतिदिन अघिकतम ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो । सम्भावित जोखिम न्यूनिकरणका लागि विगतमा एटीएमबाट रकम निकाल्न मिल्ने सिमा घटाइएकोमा अहिले पुरानै अवस्थामा ल्याइएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रले बताउनुभयो ।
विद्युतीय कार्डमार्फत् हुने कारोबारमा अब अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा गरिएको छ । राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिमा उक्त घोषणा गरेको थियो । अहिले सोही व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो । हाल पोइन्ट अफ सेल (पीएसओ) मार्फत कार्डमार्फतको कारोबारमा विक्रेताले अतिरिक्त शुल्क लिँदै आएका थिए ।
वालेट लगायत गैर–बैकिङ कारोबार प्रणालीमार्फत् रकम ट्रान्सफरको सीमा पनि राष्ट्र बैंकले बढाएको छ । नयाँ व्यवस्था अनुसार अब एजेन्ट र सब एजेन्टले प्रतिदिन २५ हजार र प्रतिमहिना एक लाख रुपैयाँसम्म ट्रासन्फर गर्न सक्नेछन् । यसअघि एजेन्ट र सव एजेन्टमार्फत भुक्तानी गर्दा एक पटकमा अधिकम ५ हजार, प्रतिदिन १५ हजार र मासिक २५ हजार रुपैयाँसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था थियो । यसरी वालेटमार्फत हुने भुक्तानीले साना कारोबार गर्न समेत नपुगेपछि राष्ट्र बैंकले सीमा बढाएको हो ।


error: यो सुविधा उपलब्ध छैन !