नेपाल आउन थालेका तीन जना भारतीयलाई कोरोना
नेपालगञ्ज – नेपाल आउन थालेका तीन जना भारतीयलाई कोरोना देखिएको छ ।
भारत बहराइचका, पिलिभित र मिहिपुरुवाका एक-एक जनालाई नेपालगञ्ज नाकामा कोरोना देखिएको हो । पिलिभितका दाङ जान थालेका थिए भने बहराइच र मिहिपुरुवाका स्वर्गद्वारी जान थालेका थिए । दाङ जान थालेका व्यक्ति इट्टाभट्टामा काम गर्ने मजदुर हुन् भने बहराइच र मिहिपुरुवाका स्वर्गद्वारी तीर्थ गर्न जान थालेको नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो ।
भारतमा ओमिक्रोनको संक्रमण बढेको छ । भारतबाट नेपाल आउने व्यक्तिमा कोरोना पुष्टि हुने क्रम बढेको छ । नेपालगञ्ज नाकामा भारतबाट आउने व्यक्तिको कोरोना जाँच हुने गर्दछ ।
यसैबीच, बाँकेका दुई वटा ल्याबमा ४६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ३० जनामा दुई जना र बागेश्वरी ल्याबमा १६ जनाको जाँच गर्दा एक जनालाई कोरोना पुष्टि भएको हो । बाँकेमा मंगलबार एक जना डिस्चार्ज भएका छन् ।