२२ जिल्लाको डिउटी गर्ने सात ‘कुकुर’

नेपालगञ्ज – बाँकेको कोहलपुरमा सात वटा कुकुर छन् । ती कुनै सामान्य कुकुर होइनन्, नेपाल प्रहरीको तालिम प्राप्त कुकुर हुन् । यी सात वटा कुकुरले लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ‘डिउटी’ गर्छन् ।
लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ठूलो अपराध हुँदा वा प्रहरीले अप्रेसनहरु गर्नु पर्दा कुकुरलाई लैजाने गर्दछन् । भारतसँग जोडिएका चलनचल्तीका नाकामा प्रायः यी कुकुरले डिउटी गरेको पाइन्छ । भारतबाट विष्फोटक पदार्थ, हतियार वा लागु औषधी भित्रिने भएकाले तालिम प्राप्त कुकुरसँगै प्रहरीले बेलाबेलामा नाकाहरुमा छड्ने जाँच गर्ने गर्दछ ।
कुकुरको रेखदेख गर्नका लागि प्रहरी निरीक्षक बासुदेव सुवेदीको नेतृत्वमा दश जना प्रहरी खएिका छन् । यी कुकुरलाई माछा मासु, फलफूल मिसिएको पेडागिरी डगफुट खुवाउने गरिन्छ । दश जना प्रहरीले कुकुरलाई ‘हाकिम’लाई जसरी रेखदेख गर्छन् ।
कुकुरका छुट्टाछुट्टै नाम छन् । कुकुरलाई फरक–फरक विधाको अनुसन्धान गर्न लगाइन्छ । नेपालगञ्जको जमुनाहा नाकामा प्रायः कुकुरले जाँच गरिरहेको देखिन्छ । यहाँ जाँच गर्न ल्याउने कुुकुरले हातहतियार, गोली गठ्ठा र लागु औषधीकै अनुसन्धान गर्छन् । केही पहिला यहाँ लब र ब्यूटी नाम गरेका दुई कुकुरले भारतबाट नेपाल भित्रिएका यात्रुको सवारी साधनदेखि सामान खोतलिरहेको थियो । यद्यपि, त्यो दिन दुवै कुकुरले केही फेला पारेनन् ।
नेपालगञ्ज नाकाबाट लागु औषधीको ठूलो कारोबार हुने गरेको पाइन्छ । प्रहरीले नियन्त्रणमा लिइरहेको कारोबारी र लागु औषधीको मात्राले त्यसलाई पुष्टि गर्दछ । यो हेर्दा एउटा कुकुरलाई चौविसै घण्टा जमुनाहा नाकामा परिचालन गर्दा धेरै मात्रामा लागु औषधीको कारोबारमा कमी आउने देखिन्छ । प्रहरीले भने सात वटा कुकुरले लुम्बिनी र कर्णाली प्रदेशका २२ वटै जिल्ला हेर्नु पर्ने भएकाले एकै ठाउँमा कुकुरलाई परिचालन गर्न नसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज मिनबहादुर विष्टले नेपालगञ्ज नाकामा एउटा कुकुरको आवश्यकता भएपनि सात वटा कुकुरले दुई वटा प्रदेशलाई हेर्नु पर्ने भएकाले एकै ठाउँमा राख्ने नसकिने बताउनुभयो । ‘हाम्रो पालो (जमुनाहामा) रोटेसन अनुसार आउँछ, इन्चार्ज विष्टले भन्नुभयो, सधैं कुकुर राखेर नाकामा जाँच गर्न सकेमा लागु औषधी पूर्णरुपमा नियन्त्रणमा आउन सक्थ्यो ।’
सीमावर्ती जिल्ला भएकाले बाँकेमा छोटी नाकाहरुबाट अवैध रुपमा साना हतियार तथा लागु औषधी भित्रिने गर्दछन् । मुख्य सडकबाटै लागु औषधी कारोबार गरेको पाइन्छ । हेटौडाबाट लागु औषधी लिन आएका मानबहादुर रोक्का ठूलो मात्रामा ब्राउनसुगर बोकेर मुख्य सडकबाटै हिडेर आइरहेका थिए । त्यसअघि उनले धेरै पटक यसरी नै कारोबार गरेको प्रहरीलाई बताएको छ । कात्तिक ८ गते उनी प्रहरीको फन्दामा परे । प्रहरीलाई विशेष सूचना आएकाले उनी पक्राउ परेका थिए । लागु औषधी जाँच गर्ने कुकुरलाई त्यहाँ राख्न सकेमा विशेष सूचना नचाहिने सक्छ । नेपालगञ्ज नाकाको जस्तो समस्या लुम्बिनी प्रदेशका सबै सीमावर्ती जिल्लामा छन् । प्रहरीको लागु औषधी नियन्त्रण ब्यूरोले नाकाहरुमा चौविसै घण्टा निगरानी राख्छन् ।


error: यो सुविधा उपलब्ध छैन !