आयोगमा भागबण्डा
काठमाडौं – सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका लागि नामहरु सिफारिस गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दुई दलका शीर्ष नेताको बैठकमा सिफारिस समितिले दिएअनुसारकै नाम नियुक्तिका लागि पठाउने सहमति भएको छ ।
दुवै आयोगमा पदाधिकारी सिफारिस गर्न गठित पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको सिफारिस समितिले सत्य निरुपण आयोगको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरेको छ । बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका एवम् कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापा सिफारिस भएको बैठकमा सहभागी सिफारिस समितिका सदस्य तथा नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
नेकपा र कांग्रेसबीच सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेकपा तर्फका तीन र कांग्रेस तर्फका दुईजना र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा कांग्रेस तर्फका तीन र नेकपा तर्फका दुई पदाधिकारी रहने सहमति भएको थियो ।