प्रधानमन्त्रीकाे भारत भ्रमणमा नेपालगन्ज-दिल्ली हवाई उडानकाे एजेन्डा राख्न माग


नेपालगन्ज – नेपालगन्ज-दिल्ली हवाई उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणमा एजेन्डाकाे रुपमा राखिदिन बाँकेबासीले माग गरेका छन् ।
यहाँका राजनीतिक दल, साँसद, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवाले प्रधानमन्त्रीकाे भदाैं ३१ गतेकाे भारत भ्रमणमा नेपालगन्ज-दिल्ली हवाई उडानलाई राज्यकाे एजेन्डा बनाई दिन माग गरेका हुन् ।
नेपालगन्ज उद्याेग बाणिज्य संघकाे अगुवाईमा दबाब समिति बनाएर त्यहीमार्फत जिल्लाबासीलाई एकजुट गराएर प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने तयारी गरिएकाे छ ।
अाज अायाेजना गरिएकाे बृहत् छलफलमा संघीयतासँगै अाेझेलमा परेकाे नेपालगन्जलाई चलायमान गराउन नेपालगन्ज-दिल्ली उडान गराउनु पर्ने बताइएकाे छ ।
नेपालगन्ज-दिल्ली उडानका लागि लामाे समयदेखि छलफल भइरहेकाे छ । नेपालगन्ज उद्याेग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीकाे अासन्न भ्रमणमा याे एजेन्डालाई समावेश गराउन राज्यलाई दबाब दिने बताए । त्यसका लागि नेपालगन्जबाट एक टाेली काठमाडाैं जादैछ । टाेलीले काठमाडाैंमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साँसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाे छ ।
ठूलाे संख्याका भारतीय बर्सेनि मानसराेबर यात्रामा जाने गर्दछन् । नेपालगन्ज-दिल्ली हवाई उडान भएमा ती तीर्थालु नेपालगन्ज अाएर जान्छन् र यहाँकाे विकासमा टेवा पुग्छ भनिएकाे छ ।
नेपालगन्ज विमानस्थलकाे स्तराेन्नति गरिएकाले अन्तर्राष्ट्रियस्तरकाे मापदण्ड पूरा गरेकाे छ । ठूला जहाज यहाँ सजिलै अाउन सक्ने भएकाे छ ।
अाज भएकाे छलफलमा प्रदेश सांसदहरु बादसाह कुर्मी, दुर्गाप्रसाद चाैधरी, भण्डारीलाल अहिर, मिना श्रेष्ठ, कांग्रेसका सचिव सुधांम्शु काेइराला, एमालेका सचिव बलराम भट्टराई, माअाेवादीका सचिव अमिर, रास्वपाका सचिव राजेन्द्र श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पाैडेल, एकीकृत समाजवादीका अध्यक्ष दीपक जीएम, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीलगायतले नेपालगन्ज-दिल्ली उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणकाे एजेन्डा बन्नु पर्ने बताए ।


error: यो सुविधा उपलब्ध छैन !