खोलाबाट भागिरहेका ‘सुन्दर’

नेपालगञ्ज – डुडुवा खोलाले सुन्दर लोनियाको उठीबास लगाएको छ । राप्ती नदीले धार परिवर्तन गरेपछि घरछेउमा आइपुगेको डुडुवाले लोनियाको घरपरिवारकै उठीबास लगाएको हो ।
आठ वर्षअघिसम्म राप्ती नदी लोनियाको घरदेखि टाढा थियो । डुडुवा त्यही मिसिएर बग्थ्यो । २०७१ को बाढी पछि राप्ती नदीले धार परिवर्तन ग¥यो । राप्ती नदी धेरै टाढाबाट बग्न थाल्यो । राप्ती नदीले भन्दा तीब्रगतिमा वर्षेनी डुडुवा खोलाले कटान गर्न थाल्यो । डुडुवाले कटान गर्छ, सुन्दरले अलि पर घर सार्नु हुन्छ ।
सुन्दरले घर बनाउने र डुडुवाले कटान गर्दै अगाडि बढेपछि भाग्ने क्रम अझै चलिरहेको छ । सुन्दर भन्नुहुन्छ, ‘मैले घर अलि टाढा सार्छु । खोला कटान गर्दै घरमै आइपुग्छ । यो आठ वर्षमा मेरो अढाई कठ्ठा जमिन नै खोलामा परिसक्यो ।’
सुन्दरको भागमा परेको अठाई कठ्ठामा खोला बगेको छ । दश धुरजति बचेको ठाउँमा बनेको घर पनि शुक्रबार कटानमा परेपछि सुन्दर पूर्णरुपमा घरजग्गा विहीन हुनु भएको छ । शुक्रबार विहान १० बजेदेखि डुडुवाले कटान थाल्यो । सुन्दरका परिवार घरमा रहेको खाद्यान्न र सामानहरु ओसार्न लागि परे । उनीहरुलाई भ्याइ नभ्याई भयो ।
सुन्दरको गाउँ कधैपुरुवामा दिउँसो एक बजे पुग्दा उनी खोलाले कटान गरिरहेको घरको डिलमा बसेर रोटी खाइरहेका थिए । आठ वर्षअघि करिव सय मिटर टाढा रहेको राप्ती नदी, डुडुवा हुँदै गाउँतिर फैलिएपछि सुन्दर घरबारविहीन भएका हुन् । ‘अब त घर बनाउने मेरो जग्गा छैन । भाइ विर्जाको पर्छ, सुन्दरले भन्नुभयो, सम्बन्धित निकायले समयमै खोलामा तटबन्ध नबनाइदिंदा मेरो परिवारको उठीबास भयो ।’
स्थानीयवासी राजकुमार शुक्लाले यही रफ्तारमा डुडुवाले कटान गर्दै गएमा केही वर्षमै गाउँवासीको उठीबास हुने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले डुडुवामा धेरै ठाउँमा डुडुवा र राप्ती नदीको कटान हुने भएकाले सबै ठाउँमा पक्की तटबन्ध बनाउन स्रोत नभएको बताउनुभयो । उहाँले केही ठाउँमा बाँसको अस्थायी तटबन्ध बनाउन सकिने बताउनुभयो । अध्यक्ष चौधरीले खोलाको कटानले गर्दा उठीबास लागेका व्यक्तिलाई ऐलानी जग्गामा बसाउने प्रतिबद्धता गर्नुभयो ।
राप्ती नदी र डुडुवा खोलाको चपेटामा पर्दै आएको छ, डुडुवा गाउँपालिकाका धेरै गाउँ । नदीले बेलामा बेलामा धार परिवर्तन गरिरहने भएकाले कहिले कुन गाउँ डुवानमा पर्छ त कहिले कुन गाउँ । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँध निर्माण गरेपछि डुडुवा गाउँपालिकाका बासिन्दाले ३० औं वर्षदेखि डुवान, कटान र पटानको समस्या भोग्दै आएका छन् । राप्ती नदीको दुवैतिर भारतको सहयोगमा पक्की तटबन्ध बनाउने तयारी भइरहे पनि त्यो पूरा हुन सकेको छैन । जनता तटबन्ध आफैले १७ किलोमिटरमा तटबन्ध बनाएको छ ।
तत्काल देखिएको सुन्दरजस्ता हजारौं मानिसको राप्ती नदीले उठीबास लगाएको छ । सरकारले न त भारतलाई छिटो तटबन्ध बनाइदेउ भन्न सकेको छ न त आफैले छिटो बनाउन सकेको छ । केही वर्षयता राप्तीमा ठूलो बाढी नआएपछि डुडुवा, गन्धैली, सुतैयाजस्ता खोलाले सुन्दरजस्ताको उठीबास लगाइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !