निकुञ्ज र पर्यापर्यटनका विषयमा छलफल

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्ज र पर्यपर्यटनका बारेमा शनिबार बृहत छलफल गरिएको छ ।
बाघका लागि उपयुक्त मानिएको निकुञ्जमा पाटे बाघसँगै दुर्लभ मानिने चौकाको बसोबास रहेको छ । स्तानधारी, पन्छी, घस्रने, उभएचर र माछा प्रजाती छन् । निकुञ्जमा जंगल, हात्ती सफारीको सुविधा रहेको छ ।
त्यसका बाबजुद बाँकेमा पर्यटक भित्रिन सकेका छैनन् । बाँकेमा पर्यटक भित्र्याउनका लागि के–के गर्न सकिन्छ भन्ने बारेमा बृहत छलफल गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले भारतीय पर्यटकलाई आकर्षित गर्न सकेमा यहाँको पर्यापर्यटन फस्टाउने बताउनुभयो । मेयर डा. राणाले नाकामै सुरक्षाकर्मीले पर्यटकलाई परेसान गर्ने टिप्पणी गर्नुभयो । ‘नाका पार गर्न नै तीन घण्टा लाग्छ । पर्यटक नाकाबाटै फर्किने सोचमा हुन्छन् । एक दिनका लागि आइहाले पनि फेरि आउँदैनन् । उनीहरु नेपालमा अपमान हुन आउने हो र ? सुरक्षाकर्मीको व्यवहारप्रति आक्रोशित मेयर डा. राणाले भन्नुभयो ।’


नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले ‘अतिथि देव भव’ भन्ने नारालाई व्यवहारमा उतार्न नसकिएको बताउनुभयो । उहाँले सुरक्षाकर्मीले पर्यटकलाई हैरान पार्छन्, अरुले पनि ठग्ने प्रवृत्ति देखाउने गरेको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत डा. रविन कडरियाले बाघ हेर्न पर्यटक लालायित हुने भएपनि बाँके र बर्दियामा पर्यटक तान्न नसकिएको बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्जमा पर्यटकका लागि चाहिने सुविधाहरु उपलब्ध भइसकेकाले अब पर्यटन सञ्जालमा जोड्न आवश्यक रहेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, कोहलपुरका मेयर लुटबहादुर रावत, बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचाल, नाटाका अध्यक्ष अच्यूत गुरागाई, पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, होटल व्यवसायी भाष्कर काफ्ले, देवानन्द अर्याल, दिवाकर खनाल, साइक्लिष्ट गगन थापालगायतले भारतको ठूलो शहर लखनउ नजिक रहेकाले त्यहाँसम्म निकुञ्जको प्रचार प्रसार गर्नुपर्ने, पर्यटकलाई अतिथि देव भवको व्यवहार गर्नुपर्नेलगायतका धारणा राखेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !