१२ कक्षाका विद्यार्थीलाई खोप
नेपालगञ्ज – १२ कक्षाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
१२ कक्षाको परीक्षा दिनु अघि सबै विद्यार्थीलाई खोप लगाउने नीति अनुरुप सबै विद्यार्थीलाई खोप लगाउन शुरु गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकामा चार वटा सेन्टर चयन गरेर ३ हजार २ सय २० जना विद्यार्थीलाई खोप लगाउने काम भइरहेको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो । नेपालगञ्जमा होम इन्टरनेशनल, आदर्श मावि, राँझा, जिभिएन र मंगलप्रसाद माविमा विद्यार्थीलाई खोप लगाइएको छ ।
जनस्वास्थ्य निरीक्षक बस्नेतका अनुसार, विद्यार्थीलाई दुई डोजको एस्ट्राजेनेका खोप लगाइएको छ । बाँकेमा ६ हजार बढी विद्यार्थीलाई खोप लगाउने काम भइरहेको छ ।