एक दर्जन घर भत्किए, डुडुवाको कटान तीब्र
नेपालगञ्ज – राती परेको पानीले बाँकेमा एक दर्जन घर भत्किएको छ ।
राप्तीसोनारी र डुडुवा गाउँपालिकाका एघार जनाको कच्ची घर भत्किएको हो । राप्ती नदीमा ठूलो बाढी नआएपनि डुडुवालगायतका नालाको पानी गाउँमा पसेपछि एघार वटा घरहरु भत्किएको छ । डुडुवाको कटान तीब्ररुपमा भइरहेपछि केही घरपरिवार विस्थापित भएका छन् ।
बाँके प्रहरीका अनुसार, डुडुवाका सुन्दर लोनिया, गणेश खटिक, लक्ष्मण चमार, आलामजहा, कन्टु कहार, नफिस खाँ, राप्तीसोनारी गाउँपालिकाका गोलु थारु, कोटी लुहारी, आशाराम थारु, सुमन दमाई, पार्वती वलीको कच्ची घर÷गोठ भत्किएको छ ।
डुडुवा खोलाले तीब्र कटान गरेपछि डुडुवा–१, कधैंपुरुवाका आधा दर्जन घर जोखिममा परेको छ । यो गाउँका सुन्दरको घर भत्किएको छ ।
विहान १० बजेपछि खोलाले कटान थालेको सुन्दरले बताउनुभयो । ‘आँगन अगाडि खोला बगिरहेको थियो । हेर्दाहेर्दै घरभित्रै खाइपुग्यो, सुन्दरले भन्नुभयो, हतार हतारमा केही खाद्यान्न र सामान सार्न सक्यौं ।’
दिउँसो एक बजे कधैंपुरुवाका तिर्थराम लोनियाका घरपरिवार सामान ओसार्दै थिए । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी कधैपुरुवामा पुगेका थिए ।
ठूलो मात्रामा परेको पानीले नेपालगञ्ज क्षेत्र जलमग्न भएको छ ।