घट्दो कोरोनाको ग्राफ
नेपालगञ्ज – बैशाखमा मृत्युदर र संक्रमण दर ह्वात्तै बढेको बाँकेमा जेठ महिनामा कोरोना परीक्षण गर्ने र संक्रमण दर घट्दै गएको तथ्यांकले देखाएको छ ।
कोरोना नियन्त्रणका लागि खटाइएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, जेठ १ गते ३ सय ६८ जनाले कोरोना परीक्षण गरेका थिए । जेठ ३१ गते ९० जनाको परीक्षण भएको छ । तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन् । जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन् । त्यसपछि घट्दै घट्दै गएको छ । जेठ ३० र ३१ गते ९०÷९० जनाको परीक्षण भएको छ ।
जिल्लामा भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार, अस्पतालहरुमा आएर कोरोनाका चिन्ह लक्षण देखिएका व्यक्तिले परीक्षण गर्ने गर्दथे । जेठदेखि यो संख्या घट्दै गएको छ । परीक्षण गर्ने र संक्रमण दर घट्दै गएपछि अस्पतालका बेडहरु खाली हुँदै गएका छन् । बाँकेमा अस्पतालहरुमा कोरोनाका लागि छुट्याइएको ८० प्रतिशत बेड खाली भइसकेका छन् । जिल्लामा सक्रिय संक्रमित सय भन्दा कम भइसकेको छ ।
केही दिन यता चौविस घण्टामा एक÷दुई जनाको मृत्यु हुने गरेको छ । पछिल्लो पटक स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का ४९ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ २० गते पीसीआर गरिएका उनलाई २५ गते अस्पतालमा भर्ना गरिएको थियो ।
बाँकेका अस्पतालमा बाँके निवासी र बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या बराबरीजस्तै देखिएको छ । बैशाखमा यो संख्या ह्वात्तै बढ्यो । कोरोनाबाट बाँकेका ३ सय १० र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा ३ सय ४४ जनाको मृत्यु भएको छ । मृत्यु संख्यामा कहिले बाँके अगाडि त कहिले बाहिरी जिल्लाका अगाडि हुने गर्दथ्यो । पछिल्लो समयमा बाँकेमा बाहिरी जिल्लाबाट आएका संक्रमितको धेरै मृत्यु भएको छ ।