इन्टिग्रिटी आइडल चौधरीलाई नगर सभामा सम्मान
नेपालगञ्ज – इन्टिग्रिटी आइडल २०२० का विजेता जनस्वास्थ्य निरीक्षक आरती चौधरीलाई नेपालगञ्ज उपमहानगरपालिकाको आठौ नगर सभामा सम्मान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा कार्यरत चौधरीलाई नगर सभामा मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।
मेयर डा. राणा र उपमेयर थापामगरले कोभिड–१९ को व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिका तथा वडाका कर्मचारीहरुले अह्म भूमिका खेलेको प्रमाणको रुपमा चौधरीले पाएको अवार्डलाई लिन सकिने बताउनुभयो । ‘देशभरमा यो अवार्ड एकजनाले पाउँछन् । जुन नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा कार्यरत चौधरीले पाउनुभयो, मेयर राणाले भन्नुभयो, यसले नगरका जनप्रतिनिधि एवं कर्मचारीलाई गौरावान्वित गराएको छ ।’ उपमेयर थापाले चौधरीको सम्मानले नेपालगञ्जको पहिचानलाई उच्च गराउन सफल भएको बताउनुभयो ।