ओली सरकारलाई घोक्रेठ्याक लगाउनु पर्छ– यादव

नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारलाई घोक्रेठ्याक लगाउनु पर्ने बताउनु भएको छ ।
अवधी पत्रकार संघ, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले प्रतिगमन सच्याउनका लागि संसद पुनस्र्थापना र ओली सरकारलाई पदच्यूत पर्ने बताउनुभयो ।
अध्यक्ष यादवले अदालतको सेटिङमा संसद विघटन भएको आरोप लगाउदै त्यसको विरुद्धमा सबै पार्टीले मोर्चा बनाउनुपर्ने बताउनुभयो । पार्टीको प्रशिक्षणको क्रममा नेपालगञ्ज आउनु भएका यादवले अहिलेको संसद विघटन २०१७ साल पुस १ गतेको पुनरावृत्ति भएको बताउनुभयो ।
उहाँले बैशाखमा चुनाव हुन नसक्ने दावी गर्नुभयो । ‘बैशाखमा चुनाव गराउने हिसावले घोषणा भएकै होइन, यो त जालसाजीमात्रै हो, यादवले भन्नुभयो, संसद विघटनको निर्णय सच्चिएन भने मुलुक अन्यौलतामा फस्छ ।’ यादवले संघीयत र समावेसिताको खारेज गर्नका लागि असंवैधानिक कदम चालेको आरोप लगाउनुभयो ।
एक प्रश्नमा यादवले जसपा सरकारमा जाने संभावना नरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा पूर्वमन्त्री इस्तियाक राइलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !