राप्तीसोनारीमा अस्पताल सञ्चालन
नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले आफ्नै लगानीमा बैजापुरमा राप्तीसोनारी अस्पतालमा ल्याएको हो । बैजापुरको स्वास्थ्य चौकी रहेको ठाउँमा भौतिक पूर्वाधार बनाएर गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाका प्रमुख लाहुराम थारु, उपप्रमुख धनीकुमारी खत्रीले आइतबार एक समारोहका बीच अस्पतालको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख थारुले सामान्य बिरामी हुँदा पनि नेपालगञ्ज या अन्यत्र जाने समस्याबाट मुक्त भएको बताउनुभयो । उहाँले सस्तो र गुणस्तरीय सेवा दिन लागि पर्ने प्रतिबद्धता गर्नुभयो ।
उपप्रमुख खत्रीले ठूलो जनसंख्या ओगेटेको राप्ती सोनारीमा अस्पताल सञ्चालनमा आउदा जनतालाई राहत मिलेको बताउनुभयो ।
वडाध्यक्ष कान्छा थारु, ८ नम्बर वडाध्यक्ष खुमबहादुर बस्नेत, नेकपाका प्रतिनिधि चिमबहादुर घर्ति, कांग्रेसका प्रतिनिधि डिल्ली वली, अस्पतालका प्रमुख डा. गोविन्दप्रसाद थारु, भेरी अस्पतालका डा. संकेत रिजाल, गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख जीवन न्यौपानेलगायतले अस्पतालले गुणस्तरीय सेवा दिंदा गाउँपालिका जनता लाभान्वित हुने बताउनुभयो ।
आइतबार नै गाउँपालिकाले रोटरी क्लव अफ सेन्ट्रल बाँकेको समन्वयमा निशुल्क स्वास्थ्य शिविर गरेको थियो । डाक्टरहरु रुपानन्द अधिकारी, कुमारसान शाह, संकेत रिसाल, कुलदीप गोइत, आरके झा, दिनेश चौधरी, नेत्र सहायक विमल कार्की, प्रेम डुम्रेलगायतले सेवा दिनु भएको छ ।