‘लजालु पहाडहरु’ को विमोचन

नेपालगञ्ज – साहित्यकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ विमोचन गरिएको छ ।
नेपालगञ्जमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सेना, वरिष्ठ लोक गायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।
करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशील ढकालको लजालु पहाड पहिलो पुस्तकाकार कृति हो । पुस्तकमा ६७ वटा गीतहरु संग्रहित छन् । विमोचन कार्यक्रममा पुस्तकमाथी टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योन्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरु लेख्ने क्षमता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले जीन्दगीको लक्षित उचाईमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरु सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ ।’ उहाँले कृतिमा रहेका केही गीतहरु पहिलो पढाईमा दुर्बाेध्य जस्तो लागेपनि तीनको वजन बुझ्ने बित्तिकै फरक खालको अनुभुत हुने दावी गर्नुभयो ।
वरिष्ठ कथाकार रेग्मीले ढकालका गीतहरु संरचनाका हिसाबले संगीतकार र गायकहरुलाई चुनौती दिने खालका रहेको बताउनुभयो । कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको बताउनुभयो । उहाँले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको पनि बताउनुभयो ।
युरेका प्रकाशनले प्रकाशन गरेको ‘लजालु पहाडहरु’ गीतसंगहको मुल्य २ सय ५० तोकिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !