विद्यालय खुले, विद्यार्थी फुरुङ्ग
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि विद्यालय खुलेका छन् ।
नौ महिनापछि विद्यालय खुल्दा विद्यार्थी खुशी देखिन्छन् । हाँस्दै, रमाउँदै स्कूल गइरहेका विद्यार्थीको मुखमा मास्क भने थिएन ।
सरकारले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचालाई पालना गरेर विद्यालय सञ्चालनमा ल्याइएको छ । कार्यढाँचा अनुसार गाउँ शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठक बसेर स्वास्थ्य मापदण्ड अपनाउनेलगायतका निर्णय गरेर विद्यालय सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार, राप्तीसोनारीमा ५४ वटा सरकारी र १६ वटा संस्थागत विद्यालय छन् । स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्ने निर्णय भएको छ ।
कक्षा बढुवासँगै नयाँ किताव लिएर स्कूल हिडेका विद्यार्थी हँसिला देखिन्थे । विनौनाको नेरामावि चिलरियामा कक्षा १० मा पढ्ने करिश्मा थारु लामो समयदेखि स्कूल जादा रमाइलो लागेको बताउनुभयो । साथीहरुको समूहमा रमाउदै स्कूल गइरहनु भएकी करिश्माले नयाँ किताव बोकेर लामो समयपछि स्कूल जादा खुशी लागेको बताउनुभयो ।
जनशक्ति मावि, बैजापुरमा कक्षा १० मा पढ्ने लक्ष्मी थारु पनि स्कूल जादा कम्ती खुशी देखिन्नथिन् ।
बाँकेमा कोरोना कहरलाई चिर्दै स्कूलहरु खुल्न थालेका छन् । जिल्लाका अरु पालिकाहरुले पनि स्कूल खोल्ने तयारी गरिरहेका छन् ।