भेन्टिलेटरमा पुगेका ३० मा २६ जनाको मृत्यु
नेपालगञ्ज – कोरोना संक्रमित भेन्टिलेटरमा पुगेपछि फर्किने संभावना न्यून देखिएको छ । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजको भेन्टिलेटरमा पुगेका ३० जनामध्ये २६ जनाको मृत्यु भएको तथ्यांकले यस्तो देखाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भेरीमा अस्पतालमा ११ र मेडिकल कलेज कोहलपुरमा १९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यसमा भेरीमा एक र कोहलपुर मेडिकल कलेजमा तीन जनामात्रै बाँच्न सफल भए ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले ‘कोरोना संक्रमितको हकमा भेन्टिलेटरमा पुगेपछि बचाउन गाह्रो भइरहेको बताउनुभयो । मेसु डा. थापाले भन्नुभयो, ‘अरु बिरामीको फोक्सो राम्रो हुन्छ र फर्किन्छ । कोरोनाले फोक्सोमा असर गर्ने भएकाले भेन्टिलेटरमा पुगेकालाई बचाउन गाह्रो हुने गरेको छ । कोरोना संक्रमित भेन्टिलेटरमा पुगेको छ भने ४÷५ प्रतिशतमात्रै फर्किन्छ ।’
बाँकेमा अहिले तीन जना भेन्टिलेटरमा रहेका छन् । कोरोनाका सिकिस्त बिरामी ३९ जना रहेका छन्, भेरीमा २६ र कोहलपुरमा १३ जना । सबै सिकिस्त बिरामी भेन्टिलेटरमा लैजानु पर्दैन । जसको फोक्सो र मुटुले काम गर्न छोड्छ, उसलाई भेन्टिलेटरमा लगिन्छ । मेसिनबाट फोक्सो र मुटुलाई चलाइन्छ ।
बाँकेमा ४२ जना मध्यम खालका बिरामी छन् । भेरीमा २७ र कोहलपुरमा १५ जनाले उपचार सेवा लिइरहेका छन् । सामान्य खालका ६ जना कोहलपुर मेडिकल कलेजमा छन् ।
लक्षण चिन्ह नदेखिएका कोरोना संक्रमितहरु घरमै बस्ने गरेका छन् । यो संख्या अस्पतालमा भन्दा धेरै रहेको छ । फोकलपर्सन श्रेष्ठका अनुसार, बाँकेमा एक सय २७ जना होम आइसोलेसनमा बसेका छन् । त्यसमा नेपालगञ्ज उपमहानगरपालिका ५३, कोहलपुर नगरपालिका ४४, खजुरा गाउँपालिकामा ९, बैजनाथमा ५, जानकीमा ४, राप्तीसोनारी गाउँपालिकामा १२ जना रहेका छन् । डुडुवा र नरैनापुर गाउँपालिकामा होम आइसोलेसनमा कोही पनि छैनन् ।
बाँकेमा कोरोना संक्रमणबाट ८८ जनाको मृत्यु भएको छ । त्यसमा बाँकेका ३८ र बाहिरी जिल्लाका ५० जना रहेका छन् ।
बाँकेमा तीन हजार ८ सय २४ जना कोरोना संक्रमित भएका छन् । त्यसमध्येमा तीन हजार ५ सय ८७ जना निको भएर घर गएका छन् । एक सय ९९ जना अहिले आइसोलेसनमा रहेका छन् ।