कहिले खुल्छन् नेपालगञ्जका स्कूल ?

नेपालगञ्ज – स्थानीय तहले जिल्ला प्रकोप व्यवस्थापन समितिसँग समन्वय गरेर स्कूल खुलाउन सक्ने कार्य ढाँचा बनेको छ । यही कार्य ढाँचालाई टेकेर पालिकाहरु स्कूल खुलाउन अघि बढिसकेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको हकमा भने अहिलेसम्म स्कूल खुलाउने कि नखुलाउने भन्ने टुंगो लाग्न सकेको छैन । कोरोना प्रकोप बढी भएको र धेरै जिल्लाका बच्चाहरु नेपालगञ्जमा आएर पढ्ने भएकाले नेपालगञ्जमा स्कूल खुलाउन चुनौती बनेको छ ।
स्कूल खुलाउने सम्बन्धमा नेपालगञ्जमा निरन्तर छलफल चलिरहेको छ । आज पनि सर्वपक्षीय छलफल हुँदैछ । स्कूल खुलाउदा कसरी खुलाउने ? बच्चाहरु सबैलाई पहिला जसरी पढाउने कि ? सिफ्ट गर्ने ? कक्षा अनुसार फरक फरक दिनमा पढाउने कि ? यी विषयमा छलफल भइरहेका छन् । बच्चाहरुलाई सामाजिक दुरी कायम गर्न चुनौती हुने विश्लेषण भइरहेको छ ।
स्कूलले पहिला अभिभावक भेला बोलाउने र त्यहाँबाट कसरी कक्षा सञ्चालन गर्ने टुंगो लगाउने विषय पनि उठेको छ । लामो समयदेखि स्कूल बन्द भएकाले स्कूल सञ्चालन गर्नुपर्छ भन्नेमा सबै भएपनि बच्चालाई केही भइहाल्यो भने त्यसको जिम्मेवार को हुने भन्ने चुनौतीले गर्दा सरोकारवालाहरु जोखिम मोल्न चाहिरहेका छैनन् । जसले गर्दा निरन्तर छलफल हुँदा पनि निष्कर्ष निकाल्न सकिएको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापाले स्कूल सञ्चालन सम्बन्धमा निरन्तर छलफल चलिरहेको जानकारी दिनुभयो । ‘स्कूल कसरी चलाउने भन्ने विषयमा हामी छलफलमै छौं, थापाले भन्नुभयो, सर्वपक्षीय भेलाबाट यसको निष्कर्ष निकाल्छौं ।’


error: यो सुविधा उपलब्ध छैन !