यसरी खुल्ने भए नेपालगञ्जका विद्यालय
नेपालगञ्ज – नेपालगञ्जमा स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरेर स्कूल खोलिने भएको छ । केही दिन देखिको निरन्तर छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।
स्कूल सञ्चालनका लागि नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको संयोजकत्वमा मापदण्ड निर्धारण कमिटि गठन भएको छ । त्यसमा उपमेयर उमा थापामगर, बोर्ड सदस्यका तर्फबाट प्रवक्ता प्रमोद रिजाल, जिल्ला प्रशासन, विद्यालय छाता संगठन, बाल क्लवका प्रतिनिधि रहेका छन् ।
स्कूल कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल जारी नै रहेको छ । स्कूलले नै यो तरिकाले स्कूल सञ्चालन गर्छु भनेर प्रस्ताव पेश गर्नुपर्ने भएको छ । एउटा बेन्चमा दुई जना विद्यार्थी राख्ने, सेटिनाइजर, थर्मोमिटर राख्ने, मास्क लगाउने, सिफ्ट गरेर कक्षा सञ्चालन गर्ने वा रोल नम्बर जोर विजोर अनुसार पढाउने स्कूलले प्रस्ताव गर्नु पर्नेछ ।
त्यसपछि फेरि स्थानीय जनप्रतिनिधि अर्थात वडाध्यक्षको संयोजकत्वमा रहने अनुगमन समितिले स्थलगत अनुगमन गरेपछि स्कूल खोल्न दिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । प्रवक्ता रिजालले अहिले कसैले स्कूल सञ्चालन गरिरहेको छ भने त्यसलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।