नर्मदा तटमा उभिएर स्मृति अर्घ
ईशावास्य मिदं सर्वम् यत्किञ्च जगत्यांजगत् ।
तेन त्यक्तेन गुञ्जिथा मा गृधः कस्यस्विद्धनम् ।।
(यो संसारमा हाम्रो वरपर जेजति पदार्थ र बस्तुहरु छन् ती सबै ईश्वरप्रदत्त उपहार हुन् । मानिसले यी बस्तुहरुको उपभोग गिद्धले सिनो लुछेजस्तो गरेर होइन कि विवेकपूर्वक ढङ्गले उपयोग गर्नु पर्दछ)
ईशावास्योपनिषतको यस मन्त्रले मानिसलाई भोगको बाटो त्यागेर उपकारको बाटो हिड्न प्रेरित गरेको छ । आहारपूर्ति र वासनापूर्तिको काममा सिमित भएर जसोतसो जिन्दगी काट्ने काम त पशुपंक्षीले पनि गर्दछन् । आफ्ना वैयक्तिक राग, अनुराग र वैरागहरुलाई पर पन्छाएर परोपकार र मानवसेवाको मार्गमा लाग्ने मानिसहरु नै यो जगत्मा पुजनिय, वन्दनिय र स्मरणिय हुन्छन् । समाजसेवालाई आफ्नो प्रमुख ध्येय र जीवनको मूल अभिष्ट बनाएका उल्लेखनिय व्यक्तित्वहरुको नाम लिनु पर्दा नेपालगंजको सन्दर्भमा नर्मदा शर्मा खनालदिज्यूको नाम अग्र पङ्क्तिमा आउँछ ।
२००१ सालमा नेपालगंजको घृतकौशिक गोत्रीय खनालथरी ब्राह्मण परिवारमा जन्मिनु भएकी नर्मदा शर्मा बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका बुवा भुवनेश्वर खनाल नेपालगंजको पुरानो इतिहास लेख्न बस्दा अनेक प्रसङ्गमा उल्लेखित हुने व्यक्ति हुनुहुन्छ । सुसंष्कृत र नैष्ठिक ब्राह्मण परिवारमा जन्मकोले होला नर्मदादिज्यूको व्यक्तित्व र व्यवहारमा पनि सात्विक प्रवृत्ति पाइन्थ्यो । उहाँको त्यही सात्विक स्वभावकै धरातलमा उभिएर उहाँको बहुआयामिक व्यक्तित्वको निर्माण र विकास भएको देखिन्छ । जीवनभर अविवाहिता रहनु भएकी नर्मदादिज्यूको जीवन आध्यात्मिक दृष्टिकोणले हेर्दा पनि एउटी निष्ठावान् तपस्विनीको जस्तो लाग्थ्यो ।
उहाँको लगन, क्षमता, रुचि, योग्यता र समर्पणका गुणहरु अनेक आयाममा छरिएका थिए । उहाँ शिक्षिका हुनुहुन्थ्यो, लेखिका हुनुहुन्थ्यो, व्यवस्थापिका हुनुहुन्थ्यो, स्वयंसेविका हुनुहुन्थ्यो, समाजसेविका हुनुहुन्थ्यो र कवयित्री पनि हुनुहुन्थ्योे । जुन व्यक्तित्वमा अनुवाद गरेर हेरे पनि उहाँको व्यक्तित्व पूर्ण लाग्थ्यो, परिपूर्ण र सम्पूर्ण लाग्थ्यो । देखावटीपना र आत्मविज्ञापनबाट उहाँ टाढा हुनुहुन्थ्यो । आत्मप्रशंसाको रोगले उहाँलाई कहिल्यै छोएको देखिएन ।
नर्मदादिज्यूको नाम मैले सानै छँदादेखि नै सुनेको हुँ । कुन् सन्दर्भ र कुन प्रसङ्गमा सुनें ठ्याक्कै भन्न नसकिए पनि उहाँको नाम एउटा प्रेरणापुञ्ज बनेर मसंगसंगै सधैं हिडिरह्यो । २०५० सालमा म बाँके जिल्लामा आएपछि उहाँको व्यक्तित्व र कृतित्वलाई अलि नजिकबाट हेर्ने र बुझ्ने अवसर पाएँ । उहाँसंगको सुनेको र देखेको एकतर्फी परिचय २०५९ सालमा आएर मात्रै बोलेको र चिनेको परिचयमा बदलिन पुग्यो । त्यसताका म पूर्णलाल चुकेदाजुको जनमत अद्र्ध साप्ताहिक पत्रिकामा ‘समय र सन्दर्भ’ भन्ने स्तम्भ लेख्थें । नर्मदादिज्युले गर्नु भएका गतिविधिहरुका समाचार र उहाँका विचार—रचनाहरु पनि जनमतमा नियमित प्रकाशित हुन्थे । एकदिन उहाँ कुनै कामको सन्दर्भमा जनमतको कार्यालयमा आउनु भएको थियो । मैले पहिलोचोटी उहाँलाई नजिकैबाट त्यहीं देखेको हुँ । त्यो दिन म कम्प्युटरमा एकाग्र थिएँ । पछाडिबाट मसिनो नारी आवाज आयो— ‘के छ कोपिला भाइ?’ । मैले फर्केर हेरें, होचोहोचो मोटोमोटो कद, उज्याला आँखा र हँसिलो मुहार बोकेर नर्मदादिज्यू उभिनु भएको थियो । मैले हत्तपत्त ‘दिज्यू दर्शन’ भनेर अभिवादन गरें । दिज्यू फेरि बोल्नु भो—‘कोपिला भाइसंग बल्ल आज भेट भयो’ । म अवाक् भएर उहाँलाई हेर्नलागें । उहाँसंग शुरुमा मैले बोल्नु पर्ने तर उहाँ बोल्न आउनु भो, दिज्यूसंग भेट भएको खुसी मैले व्यक्त गर्नु पर्नेमा उहाँ पो खुसी व्यक्त गरिरहनु भएको छ । भित्रभित्रै लाज र खुसीको समिश्रणले मलाई भावुक बनायो । त्यति ठूलो व्यक्तित्वले प्रत्यक्ष भेटघाट हुनु भन्दापूर्व नै मलाई चिन्नु हुँदो रहेछ । कति खुसीको कुरो थियो त्यो मेरोलागि !
त्यो दिन दिज्यूसंग लामो कुराकानी भयो । मेरा रचना, लेखहरु उहाँ पढ्नु हुँदो रहेछ । ‘भाइका लेखहरुको त म फेन हुँ’ दिज्युको मुखबाट यो सुनेपछि म लाजले फेरि भुतुक्कै भएँ ।
त्यतिखेर देश विस्फोटक राजनीतिक उथलपुथलको संघारमा उभिएको बेला थियो । केही बोल्नु र लेख्नुका आफ्नै जोखिम थिए । एउटा न एउटा विचार उर्लिहाल्थ्यो हरेक मान्छेका मनबाट । म भने २०४७ सालकै संविधानमाथि उभिएर राजा, संसदबादी दल र माओबादीको बीचमा बृहद् सहमति हुनुपर्छ भन्ने मान्यता राख्थें । माओबादीको परपीडक युद्ध राजनीति र सात दलले दिल्लीमा गरेको १२ बुँदे सहमतिको घोर विरोधी थिएँ म । मेरो यो विचार त्यतिखेर मलाई प्रतिगामी र राजाबादी भनाउनका लागि प्रयाप्त थियो । धेरैले ‘समयको बहाव विपरित यसरी नलेख’ भनेर मलाई हतोत्साहित पार्न पनि खोज्थे तर नर्मदा दिज्यूले मलाई सधैं हौसला दिइरहनु भयो । म अहिले पनि सम्झिरहेको छु— ‘भाइ ! तपाइँ आफ्नो ठाउँमा एकदमै सही हुनुहुन्छ, एक्लो भए पनि त्यो विचारबाट पलायन नहुनुहोला’ भनेर मलाई परिचयको पहिलो दिनमैं दिज्यूले हौस्याउनु भएको थियो । सयौं जनाको भीडभन्दा एकजना बौद्धिक व्यक्तिले दिएको प्रोत्साहनले कति उर्जा दिंदो रहेछ भन्ने कुरा मलाई त्यही दिनमैं महसुस भएको थियो ।
समयक्रम अगाडि बढ्दै गयो । दिज्यूसंगको मेरो निकटता झन् झंगिदै गयो । दिज्यु र मेरा देश र राजनीतिलाई हेर्ने दृष्टिकोणहरु मिल्दारहेछन् । राजनीति गर्नेहरुले देशको संस्कृति, धर्म, परम्परा र मूल्यमान्यतामाथि खेलवाड गर्नु हुन्न भन्ने कुरामा मेरो र दिज्यूको मतैक्यता थियो । उहाँलाई मैले आफ्नो विचारमा सदैव कल्पवृक्ष झैं अडिग भएर उभिएको पाएँ । समयको अन्तरालमा बागमतिमा थुप्रै पानी बगिरह्यो । देश र समाजले अनेकौं उतारचढावहरु भोग्यो । सामाजिक जनजीवनमा झन्झन् निराशा बढ्दै गयो । जबजब दिज्यूलाई म भेट्न जान्थें उहाँको मुखबाट सुन्थे— भाइ ! हामी त आफ्नो ठाउँमा सही रहेछौं, हुलमा मिसिएनौं, बाटो बिराएको त समयले पो रहेछ । २०६२÷६३ सालतिर भेट्दा, छलफल गर्दा कतै हामी समयको धारको विपरित त उभिएका छैनौं भनेर पनि स्वयं आत्मसमीक्षा गथ्र्यौं । दिनहरु बित्दै गएपछि हामीलाई हुलमा नमिसिएकोमा गर्व हुन थाल्यो । दिज्यू भनिरहनु हुन्थ्यो— हेर्नुहोला भाइ एकदिन समयले हामी उभिएको ठाउँलाई नै सही हो भनेर प्रमाणित गर्ने छ । समयले बिराएको बाटो पुनः सही ठाउँमा आउने वातावरण त बनन लागेको छ, तर दिज्यू भने आज हाम्रा सामु हुनुहुन्न ।
दिज्यूले कहिल्यै हरेश खानु भएन । कहिल्यै बिचलित हुनु भएन । आफ्नो विचारलाई लत्याएर उहाँले कहिल्यै सम्झौता गर्नु भएन । माओबादी युद्धकालमा उहाँका भदा दिवाकर खनाललाई माओबादीले गोली प्रहार गरे । यो उहाँको परिवारलाई बिचलित पार्ने घटना थियो तर दिज्यूले हरेश खानु भएन । यस पीडालाई भित्रभित्रै पिएर समाजसेवामा लागि रहनु भयो । माओबादीप्रति उहाँले कहिले पनि दुर्भावना राख्नु भएन । उहाँको नैसर्गिक विनम्रता र चिरनुतन हार्दिकता कहिल्यै मैलो भएन । २०७० सालको संविधान सभाको चुनाबताका नर्मदा दिज्यूसंगको एउटा घटना निकै चर्चामा आएको थियो । त्यो बेला चुनाब प्रचार गर्दागर्दै एकजना माओबादी उम्मेदवार उहाँको घरआँगनमा भोट माग्न पुगेछ । उहाँले विनम्रतापूर्वक उसलाई भन्नु भएको थियो रे — ‘भाइ तपाइँले मलाई भोट माग्न सुहाउँदैन, मैले पनि तपाइँलाई भोट दिन सुहाउँदैन, विचारमा अलिकति नैतिकता त हुनै पर्छ’ । त्यो उम्मेदवार निरुत्तर भै खिस्रिक्क परेर फर्किएको थियो रे । यसबाट नर्मदा दिज्यूको स्पष्टता र निडरता दृष्टिगोचर हुन्छ ।
नर्मदा शर्मा खनालदिज्यूले हामीलाई छोडेर जानु भएको पनि वर्ष दिन भैसक्यो तर उहाँको सेवा भावका गाथाहरु अनन्त कालसम्म जीवित रहने छन् । उहाँको स्मृति सदैव हाम्रो आसपासमा प्रेरणादायी तरङ्ग छोडेर डुलिरहने छ । उहाँका स्मृति शेषहरु सदैव हामीलाई मानवताबादी, राष्ट्रबादी र आफ्नो संस्कृतिप्रति प्रतिबद्ध हुन मार्गदर्शन गरिरहने छन् ।
नर्मदा दिज्यूका मातापिताले उहाँको नामाकरण के सोचेर गर्नु भएको थियो कुन्नि? उहाँले भने आफ्नो नामको अर्थलाई सार्थक बनाउनु भएको छ । शब्दकोषले नर्म भनेको संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्येको कैशिकी वृत्ति अन्तरगतको एक अंग भनेको छ । कैशिकी वृत्तिमा नारी पात्रको प्रमुख भूमिका हुन्छ । कैशिकी वृत्तिको नर्म अंगले आनन्दमय र हार्दिक पात्रतालाई उद्बोधित गर्छ । मध्य भारतको अमरकंटक पहाडबाट उत्पत्ति भएर डेक्कनको पठारमाथि निर्बन्ध भएर बग्दै अरब सागरमा पुगेर मिसिने एउटा नदी छ नर्मदा । अत्यन्त पबित्र, जीवनदायिनी र मोक्षदायिनी मानिने नर्मदा नदीको प्रसङ्ग हाम्रा धार्मिक ग्रन्थहरुमा आनन्दमय र हार्दिक भावको बिम्बको रुपमा आउने गरेको छ । नर्मदा खनालदिज्यूको व्यक्तित्व पनि मलाई नर्मदा नदीको सजिव रुपजस्तै अत्यन्त निश्छल, प्राञ्जल र निश्कलंक लाग्थ्यो ।
मैले आफ्नो जीवनको डेड दशकको समय उहाँको निकटतामा बिताउन पाएँ । उहाँका छरिएर रहेका पुराना रचनालाई समेटेर एउटा कृति प्रकाशित गर्ने उहाँको धोको थियो । जीवनको अन्तिम कालमा उहाँ बिरामी पर्नु भएपछि त्यो धोको अधुरै रह्यो । यसमा मलाई पनि थकथक लागिरहेको छ ।
उहाँसंग बिछोड भएको एक वर्षपछि उहाँको स्मृतिचित्रलाई अक्षरमा अनुवाद गर्ने चेष्टा गरिरहँदा शब्दहरु पनि निरीह भएको आभास भैरहेको छ । नर्मदा तटमा उभिएर स्मृति अर्घ चढाइरहेको केवल एउटा अकिञ्चन साधकजस्तै भएको छु यतिखेर म ।
मन जलेर बनेको खरानी यही हो
सम्झेर बग्ने आँखाको पानी यही हो
केही स्मृति, केही पीडा, केही प्रेरणा
हृदयमा बचेको निशानी यही हो
(नेपालगंज वार्ड नं.१, आदर्शमार्ग)