बेमौसमी वर्षाले ‘पकेट क्षेत्र’को आलु ध्वस्त
नेपालगन्ज – बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६, हिरमिनियालाई तरकारीको पकेट क्षेत्र मानिन्छ । तरकारीमा पनि आलु धेरै उत्पादन हुने ठाउँ हो, हिरमिनिया । हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका शतप्रतिशत किसानले आलु खेती गर्छन् ।
धान काटेलगत्तै किसानले आलु लगाउन शुरु गर्छन् । यसपाली पनि किसानले तिहार लगत्तै आलु लगाउन शुरु गरे । प्रकृतिको लिला ! तिहारको भोलीपल्ट कात्तिक १८ गते साँझ ठूलो पानी प¥यो । त्यो पानीले किसानले लगाएको आलु उम्रिन नपाउँदै स्वाहा भएको छ ।
कमलाप्रसाद कुम्हारले एक विगाहमा आलु लगाएको तीन दिन भएको थियो । पाँच हजार क्वीन्टलका दरले १६ क्वीन्टल बीउ किनेर लगाएको आलु तीन दिनसम्म पानीमा डुबिरह्यो । बोरिङ लगाएर जमेको पानी त बाहिर निकाले तर आलुको टुसा निस्किएन । आलुको बीउ नै कुहिएर नष्ट भएको छ । हरेक सिजनमा आलुबाट दुई लाख रुपैया बचत गर्ने कमलाप्रसादको यसपाली बीउ, मल, जोताई गर्दा एक लाख खर्च भएको छ । बेमौसमी वर्षाले बचत त परै जाओस्, साँवा नै डुवानमा परेको छ । कमलाप्रसाद भन्छन्, ‘हामीले आलु लगाउदा मौसम राम्रो थियो । तीन दिनपछि एकाएक ठूलो पानी प¥यो, त्यो पानीले हाम्रो बिचल्ली नै बनाएको छ ।’
जयपाल मौर्यले दुई विगाहमा आलु लगाएका छन् । थप दुई विगाहमा लगाउन भ्याइसकेका थिएनन् । मौर्यले पहिला नै ड्याङ बनाएर लगाएकाले अलिअलि आलु उम्रिने आशा छ । एक कठ्ठामा दश क्वीन्टलसम्म आलु फल्छ । राम्ररी फल्दा एक कठ्ठामा लगाएको आलुबाट मात्रै २० हजार बचत हुने मौर्यको भनाई छ । मौर्य भंघोटनाका धेरै आलु लगाउने किसानमा पर्छन् । स्थानीय ओमप्रकाश मौर्यले दिउँसो एक कठ्ठामा आलु लगाउनु भएको थियो, साँझ पानी प¥यो । ओमप्रकाश भन्छन्, ‘उही दिन पानी परेकाले आलु उम्रिने आशा छैन ।’
किसानले आलु लगाएको बारीमा कतैकतै अझै पानी जमेको छ । केहीले भइहाल्छ कि भनेर बोरिङ लगाएर पानी फालेका छन् । किसानले शुरुमा सम्ममा आलु लगाउने र पछि उम्रिएपछि ड्याङ लगाउने गर्दछन् । केहीले शुरुमै ड्याङ लगाउँछन् ।
पकेट एरियामा आलु उम्रिन नपाउदै नष्ट भएकाले यसपाली सिजनमा नेपालगन्जमै भारतीय आलु खानु पर्ने बाध्यता हुने सम्बद्धहरु बताउँछन् । वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारेको बताए । ‘किसानले लगाएको धान र आलु नष्ट नै भएको छ, वडाध्यक्ष मिश्रले थपे, धानको लगत निकाल्न शुरु गरेका छौं । आलुको पनि लगत निकालेर क्षतिपूर्तिका लागि पालिका, प्रदेश र संघीय सरकारसँग माग गर्छौ ।’
कात्तिकमा परेको पानीले किसानलाई ठूलो समस्यामा पार्ने गरेको छ । केही वर्षअघि पनि कात्तिकमा पानी परेर किसानलाई ठूलो मर्कामा पारेको थियो । त्यतिबेला सरकारले लगत लिएर किसानलाई थोेरै भएपनि सहयोग गरेको थियो । आलु उम्रिन नपाउदै नष्ट भएपछि मर्कामा परेका किसानले सरकारको मुख ताकेका छन् । जयपाल मौर्यले महंगोमा बिउ किनेर रोपेका किसानले ठूलो क्षति ब्यहोर्नु परेकाले सरकारले केही राहत उपलब्ध गराउनु पर्ने बताए ।